डब्लुएचओलाई गर्दै आएको सहयोग रोक्न वा कम गर्नु हुँदैनः संयुक्त राष्ट्रसंघ

संयुक्त राष्ट्रसंघले विश्वमा मानव स्वास्थ्यको निगरानी गर्ने निकाय डब्लुएचओलाई दिइँदै आएको आर्थिक सहायता कम गर्ने वा रोक्ने समय नरहेको बताएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठनलाई अमेरिकाले दिँदै आएको आर्थिक सहयोग रोक्ने बताए लगत्तै राष्ट्रसंघका महासचिव एन्टोनियो गुट्रेसले वक्तव्य जारी गरेर कुनै पनि अवस्थामा अहिले सहयोग रोक्न नहुने बताएका हुन् । वक्तव्यमा महासचिवले भनेका छन्, ‘यो समय सहयोग रोक्ने वा कम गर्ने होइन । यो बेला त एकताको खाँचो छ । एकीकृत प्रयासको आवश्यकता छ ।’

कोरोना भाइरसको विश्वव्यापी महामारीविरुद्धको युद्धका लागि विश्वव्यापी प्रयासको खाँचो रहेको महासचिव गुट्रेसले बताएका छन् । कोभिड–१९ को संक्रमण अन्त्यका लागि विश्वभरका सरकार तथा निकायहरुको सहकार्यको आवश्यकता रहेकोमा उनले जोड दिएका छन् ।

मानव समुदायले सामान गरेको अति खतरनाक चुनौतिका बेला विवादको कुनै कुन्जायस नहुने महासचिवले बताए ।

राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा मंगलबार भएको पत्रकार सम्मेलनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्लुएचओलाई अमेरिकाले गर्दै आएको आर्थिक सहायता रोक्नका लागि आफूले निर्देशन दिइसकेको बताएका थिए ।

विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि डब्लुएचओले गरेको काम निकै कमजोर रहेको ट्रम्पले आरोप लगाएका छन् । डब्लुएचओ कोरोना भाइरस नियन्त्रणको आधारभूत प्रयासमै असफल भएको ट्रम्पको अभियोग छ ।

संयुक्त राष्ट्रसंघीय निकाय डब्लुएचओमाथि ट्रम्पले गम्भीर आरोप लगाउँदै कोरोना भाइरसको संक्रमण चीनमा देखिएपछि त्यसको ढाकछोप गरेको बताए ।

यसअघि ट्रम्पले कोरोना भाइरसको संक्रमणलाई लिएर डब्लुएचओ चीनको पक्षमा वकालत गरेको अभियोग लगाएका थिए । डब्लुएचओका प्रमुखले कोरोना भाइरसको महामारीलाई राजनीतिकरण नगर्न आग्रह गरेका थिए ।

ट्रम्पले ह्वाइट हाउसमा भएको पत्रकार सम्मेलनमा भने, ‘मैले मेरो प्रशासनलाई डब्लुएचओलाई दिइँदै आएको सहयोग रोक्न र कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि गरेको खराब व्यवस्थापन तथा चीनको ढाकछोप गरेको घटनाको मूल्यांकन गर्न भनेको छु ।’

डब्लुएचओको खर्चमा अमेरिकाको सबैभन्दा ठूलो हिस्सा रहने गरेको छ । गएको वर्ष अमेरिकाले डब्लुएचओलाई ४०० मिलियन अमेरिकी डलर दिएको थियो । यो डब्लुएचओको कुल बजेटको करिब १५ प्रतिशत हो ।




– एजेन्सी /देशसंचार