सीमानाकाहरुमा थप कडाइ गर्न राजपाको माग

 राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले सीमानाकाहरुमा थप कडाइ गर्न सरकारसँग माग गरेको छ ।

राजपा नेपालका अध्यक्षमन्डलका संयोजक शरतसिंह भण्डारीले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै ‘लकडाउन’को अवधि थप गरेकोमा स्वागत गर्दै सीमानाकामा थप कडाइ गर्न सुझाव दिएका हुन् ।

राजपाले लकडाउनलाई अझ प्रभावकारी बनाएर कोरोनाभाइरसको संक्रमण नियन्त्रण गर्न प्रयास गर्नुपर्ने बताएको छ ।

छिमेकी मुलुकहरूमा कोरोनाभाइरसको संक्रमन तीव्रगतिमा बढिरहेकोले खुला सिमानामा अझ निगरानी बढाउनुपर्ने र व्यापकरुपमा सुरक्षाकर्मी परिचालन गरी आवत–जावतलाई कडाइका साथ रोक्नुपर्ने राजपाको माग रहेको छ ।

यस्तै, लकडाउनको अवधिमा समेत काठमाडौंबाट पैदल गइरहेका मानिसहरुको व्यवस्थापन गर्न पनि सुझाव दिइएको छ ।

उपत्यकालगायत देशका विभिन्न भागमा फसेका नागरिकहरुलाई खाने, बस्ने व्यवस्था मिलाउन तत्काल वडा कार्यालयहरुलाई परिचालन गर्नुपर्ने माग पनि राजपाले गरेको छ ।

 

प्रेस विज्ञप्ति

मिति-२०७७-०१-०३

हिजो सरकारले वैशाख १५ गते सम्म वढाएको लक डाउनको समय सिमा सम्बन्धि निर्णय स्वागतयोग्य छ। तर यसलाई अझ प्रभावकारी बनाउन केही महत्त्वपूर्ण कुराहरुमा सरकारको ध्यान पुग्नु आवश्यक छ।

१. लक डाउनमा दिनहुँ काठमाडौबाट पैदल यात्रा गरि हजारौंको संख्यामा सर्वसाधारण नागरिक आ-आफ्नो जिल्ला तर्फ गैरहेका छ्न जस्ले एकातिर विभिन्न ठाउँमा झडपको स्थिति सृजना भएको छ भने अर्कोतिर स्थानीय ठाउँहरुमा त्रासको पनि अवस्था छ। त्यसकारण लक डाउनलाई सफल बनाउन यस विषयमा सरकार गम्भीर भई यसको उचित समाधान खोज्नुपर्छ ।

२.उपत्यका लगायत देशको विभिन्न भुभागमा फसेका नागरिकहरु जसलाई खान बस्न गार्हो भएको अवस्था छ तीनीहरुलाई सम्बन्धित वडाहरुबाट तत्काल राहतको व्यवस्था मिलाउनु पर्दछ।यस विषयमा सरकारले बारम्बार निर्णयहरु गरे पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन।

३.छिमेकी मुलुकहरूमा कोरोना भाइरसको संक्रमन तीब्र गतिमा वढीरहेको कारणले खुला सिमानामा अझ निगरानी बढाउनु पर्ने भएकोले व्यापक रुपमा सुरक्षाकर्मीहरु परिचालन गरि आवत जावतलाई कडाइका साथ रोक्नु पर्दछ।

४.देशको विभिन्न भुभागामा अहिले आएर संक्रमितहरुको संख्या वढ्न थालेको छ तर स्वास्थ्यकर्मीहरुले अझै पनि स्वास्थ सामग्रीहरु पाउन सकिरहेको छैन।त्यसकारण सरकारले प्राथमिकताका साथ तत्काल आवश्यक सामग्रीहरु उपलब्ध गराउनु पर्दछ।

अन्त्यमा आम जनसमुदायलाई यो महामारीबाट जोगिन सिङ्गो देश एक ठाउँमा उभिनु पर्ने भएकोले लक डाउनको नियमहरु जिम्मेवारीका साथ पालना गर्नु हुन सवैलाई हार्दिक अपील गर्दछौं ।

शरतसिंह भण्डारी

संयोजक

राष्ट्रिय जनता पार्टी नेपाल 



-इमेज