एकैदिन उदयपुरमा ११ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ।
धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ८ र टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ३ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ।
योसँगै कोरोना संक्रमितको संख्या ४२ पुगेको छ। जसमा ५ जना निको भएर घर फर्किएका छन्।
उदयपुरमा देखिएका ११ संक्रमितमध्ये ८ जनालाई आजै विराटनगरको कोरोना विशेष अस्पताल पठाइएको छ।
सुरुमा उनीहरूलाई धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा भर्ना गरिएको थियो। पछि अस्पतालमा गरिएको पुनः परीक्षणमा पोजेटिभ देखिएपछि विराटनगर पठाइएको हो।
गत शुक्रबाट जिल्लाको भुल्केस्थित एक मस्जिदमा रहेका १६ मध्ये १३ जनामा कोरोना संक्रमण देखिएको थियो। आज तीनै संक्रमितसँग सम्पर्कमा आएका थप ११ जनामा कोरोना पोजेटिभ देखिएको हो।
एकैदिन ११ जनामा संक्रमण देखिएपछि प्रदेश-१ सरकारले जिल्लालाई नै सिल गर्ने निर्णय गरेको छ। जिल्लामा आवतजावत रोक्ने हिसाबले सिल गर्ने निर्णय भएको सामाजिक विकास मन्त्री जीवन घिमिरेले सेतोपाटीलाई जानकारी दिए।
उदयपुरमा मात्र कोरोना संक्रमितको संख्या २४ पुगेको छ। जसमा आज देखिएका ११ जना संक्रमित नै जिल्लाका स्थानीय हुन्। उनीहरू पनि मुस्लिम समुदायकै छन्।
यसअघि देखिएका १३ संक्रमितमध्ये धेरै भारतीय छन्। उनीहरू एक महिना अघि भारतबाट मोरङ, सुनसरी, सप्तरी हुँदै चैतको पहिलो साता उदयपुर आइपुगेका थिए। सेतोपाटीमा समाचार छ ।