सुदूरपश्चिमका कोरोना संक्रमित पाँचैजना निको भएर घर फर्किएका छन् । दुई महिला र तीन पुरुष सेती प्रादेशिक अस्पतालमा उपचारपछि निको भएर घर फर्किएका हुन् ।
धनगढी उपमहानगरपालिका–५, की ३४ वर्षीया दीपा शाहीलाई शुक्रबार अस्पतालले डिस्चार्ज गरेको छ । शाही उपचारपछि निको भएर सेतीबाट घर फर्कने पाँचौँ संक्रमित हुन् । प्रदेशमा अब कोरोना संक्रमणका बिरामी छैनन् ।
पछिल्लाेपटक लगातार दुईवटा थ्रोट स्वाबको नमुना जाँचमा रिपोर्ट नेगेटिभ आएपछि शाहीलाई डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।
शाहीलाई गत २२ चैतमा कोरोना संक्रमण पुष्टि भएको थियो । यसअघि उनमा लगातार ६ पटकसम्म गरिएको नमुना जाँचमा रिपोर्ट पोजेटिभ आएको सेती प्रादेशिक अस्पतालका आकस्मिक विभाग प्रमुख डाक्टर जगदीशप्रसाद जोशीले बताए ।
१ वैशाखयता सुदूरपश्चिममा नयाँ संक्रमित भेटिएका छैनन् । पछिल्लोपटक नयाँ वर्षको पहिलो दिन लम्की चुहा नगरपालिकाकी ६५ वर्षीया महिलामा कोरोना संक्रमण भेटिएको थियो । उनी वीरगन्जबाट फर्केकी थिइन् ।
भारतबाट फर्कनेको संख्या ठूलो रहेको र परीक्षण न्यून भएकाले प्रदेशमा कोरोनाको जोखिम भने कम नभएको चिकित्सकले बताएका छन् । भारत र अन्य ठाउँबाट भित्रिएकाहरूमा पनि कोरोना परीक्षण हुन सकेको छैन ।
प्रदेशभर हालसम्म १७ हजार ६ सय १४ जनामा कोरोनाको परीक्षण गरिएको छ । आरएनए किट सकिएपछि प्रदेशमा पिसिआर मेसिनबाट कोरोना परीक्षण दुई दिनदेखि बन्द भएको छ ।
प्रदेशका विभिन्न जिल्लामा संकलन गरी ल्याइएका थ्रोट स्वाबका ५५ वटा नमुना किटको अभावमा परीक्षण हुन नसकेर धनगढीस्थित क्षेत्रीय पशु रोग अन्वेषण प्रयोगशालामा राखिएको छ ।