कपिलवस्तुमा एक नर्समा कोरोना संक्रमण पुष्टि, नेपालमै पहिलो पटक देखियो नर्समा कोरोना पोजेटिभ

नेपालमै पहिलो पटक एक नर्समा कोरोना संक्रमण पुष्टि भएको छ । कपिलवस्तुको तौलिहवा अस्पतालमा कार्यरत नर्समा कोरोनाभाइरस पोजेटिभ रहेको पुष्टि भएको हो । 
प्रदेश नम्बर ५ को प्रदेश स्वास्थ्य निर्देशनालयका प्रवक्ता रोशनलाल चौधरीले ती नर्समा कोरोना संक्रमण पुष्टि भएको बताए । 
उनका अनुसार आज कोरोना संक्रमण पुष्टि भएका कपिलवस्तुका ८ जना नै कलिपलवस्तु नगरपालिकाका  हुन् । 
हालसम्म १९१ जनामा कोरोना पुष्टि हुँदा स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको थिएन ।
 केही अघि त्रिपुरेश्वरस्थित केन्द्रीय कारागारमा कार्यरत दुई नर्समा कोरोना परीक्षण गर्दा आरडीटी पोजेटिभ आएको थियो तर पीसीआर परीक्षणमा नेगेटिभ आएको थियो । 
प्रदेश ५ मा मंगलबारमात्रै कपिलबस्तुमा ८ र रुपन्देहीमा ९ गरी १७ जना कोरोना संक्रमित थपिएका छन् । 
यसअघि सोमबार पनि कपिलबस्तु,  रुपन्देही र बर्दिया जिल्लामा गरेर २३ जना थपिएका थिए ।
 योसँगै प्रदेशमा संक्रमितको संख्या ७० पुगेको छ । भारतको मुम्बई र दिल्लीबाट आउनेहरुमा सबैभन्दा बढी संक्रमण देखिएको छ। पछिल्लो समय भारतसँग सीमा जोडिएका जिल्लाका क्वारेन्टाइनहरुमा परीक्षणको दायरा बढाएसँगै संक्रमितको संख्या बढ्दै गएको हो।
 प्रदेश ५ मा आज भेटिएका अधिकांश कोरोना संक्रमित भारतबाटै आएको खुलेको छ  ।
प्रदेश नम्बर ५ कै बाँकेमा २४ जना संक्रमित रहेका छन् भने बर्दियामा पनि १ जनामा कोरोना पुष्टि भएको छ ।