-टीपी भुसाल/अभियान
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन खुकुलो भएकोप्रति असन्तुष्टि व्यक्त गर्नु भएको छ । मंगलवार एकै दिन ५७ जना कोरोना संक्रमित थपिएर नेपालमा कोरोना संक्रमितको संख्या १९१ पुगेको अवस्थामा लकडाउनमा थप कडाइ नगर्ने हो भने अवस्था झन् गम्भीर हुने प्रधानमन्त्रीले बताउनु भएको छ ।
मंगलवार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले पछिल्लो समय नेपालमा संक्रमितको संख्या बढ्दै गएका कारण पनि लकडाउनमा कडाइ गर्नु पर्ने बताउनु भएको छ ।
प्रधानमन्त्री ओलीले कोरोना संक्रमितको संख्या बढ्दै गएकोले भन्दै यसबारे गम्भीर रुपमा छलफल गरेर अगाडि बढ्न कोभिड–१९ उच्चस्तरिय समन्वय समितिलाई निर्देशन दिनुभएको एक मन्त्रीले बताए । यस्तै प्रधानमन्त्री ओलीले नेपाल–भारत सीमा विवाद कूटनीतिक तबरबाटै हल गर्नेमा जोड दिनु भएको बालुवाटार स्रोतले जानकारी दिएको छ ।
मन्त्रिपरिषद्को गत बुधवार बसेको बैठकले कोरोना संक्रमण नियन्त्रणका लागि जारी लकडाउनलाई जेठ ५ गतेसम्म लम्ब्याउँदै सरकारले शर्तसहित उद्योगहरू खोल्न दिने गरी केही खुकुलो बनाएको थियो ।
लकडाउनको अवधिमा शर्तसहित अत्यावश्यक र अन्य उद्योगहरू सुरक्षा मापदण्ड अपनाई सञ्चालन गर्न दिने निर्णय गरे लगत्तै काठमाडौंमा एकाएक ट्राफिक चाप बढेको छ भने पछिल्लो दुई दिनमा मात्रै नेपालमा सोमवार २४ र मंगलवार ५७ जना गरी ८१ जना कोरोना संक्रमित थपिएका छन् ।