सरकारले दैनिक ३५ सयसम्म नेपालीलाई स्वदेश फर्काउन सकिने निष्कर्ष निकालेको छ।
शुक्रबार बसेको कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले साता/दश दिनपछि नेपालीहरूलाई स्वदेश ल्याउन सकिने निष्कर्ष निकालेको हो।
समिति स्रोतका अनुसार भारतबाहेकका मुलुकमा रहेका नेपालीहरूलाई ल्याउन नेपालमा भएका सबै कम्पनीका जहाजहरूले उडान गर्नेछन्। सरकारी र निजी कम्पनीका सबै जहाज उडाउँदै दैनिक ३ हजारदेखि ३ हजार ५ सयसम्म नेपालीलाई स्वदेश ल्याउन सकिने समितिको हिसाब छ।
नेपाल आउन चाहनेहरूले जहाजको भाडा भने आफैं तिर्नुपर्नेछ।
काठमाडौं विमानस्थलमा आइसकेपछि उनीहरूलाई होटलमा राखिनेछ। होटलहरूको मेनु र शुल्क सरकारले तय गर्नेछ। फर्केकाहरूले आफ्नो क्षमताअनुसार होटल छान्न पाउनेछन्।
होटलमा होल्ड गरिएकाहरूको स्वास्थ्य परीक्षण हुनेछ। परीक्षणमा कोभिड-१९ नदेखिएपछि उनीहरूलाई गाडीमा राखेर स्थानीय तहसम्म पुर्याइने छ। त्यसपछि उनीहरूल त्यहाँको स्थानीय तहले बनाएको क्वारेन्टिनमा बस्नु पर्नेछ।
परराष्ट्र मन्त्रालयले तत्कालै ६ लाख नेपालीलाई स्वदेश ल्याउनु पर्ने देखिएको आँकडा निकालेको छ।
उच्चस्तरिय समितिको यो निष्कर्षबारे अन्तिम निर्णय भने मन्त्रिपरिषद् बैठकले गर्नेछ। सेतोपाटीमा समाचार छ ।