भीम अस्पताल भर्ना भएका २५ जनाले कोरोनालाई जिते

कृष्ण परियार 
१९ जेठ, बुटवल ।  रुपन्देहीको भैरहवास्थित भीम अस्पतालमा भर्ना भएका २५ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । डिस्चार्ज हुनेहरुमा ४ वर्ष र १० वर्षकी बालिका सहित २२ जना पुरुष र तीनजना महिला छन् । कोरोना पोजेटिभ देखिएपछि अस्पताल भर्ना भएका २५ जना सबैले कोरोनालाई जितेका हुन् । 
२५ जना मध्ये रुपन्देहीको गैडहवा गाउँपालिकाका एकै परिवारका तीन महिलासहित १० जना, लुम्बिनी सांस्कृतिक नगरपालिकाका ५ जना, सिद्धार्थ नगरपालिकाका एकजना छन् ।
यस्तै कपिलवस्तु नगरपालिका कपिलवस्तुका ४ जना, कपिलवस्तुकै विजयनगर गाउँपालिकाका एकजना, भारतीय नागरिक एकजना, नवलपरासी पश्चिमको प्रतापपुर गाउपालिकाका एकजना र सुस्ता गाउपालिकाका दुई जना रहेका अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. नवीन दर्नालले बताए ।
पछिल्लो २४ घण्टामा दुईपटकसम्म गरिएको पीसीआर परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ  आएपछि डिस्चार्ज गरिएको डा. दर्नालले बताए । अस्पतालमा भर्ना भएको १४ दिनमानै उनीहरुले कोरोनालाई जितेका हुन् ।   
 अस्पतालबाट डिस्चार्ज भएकालाई प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बराल, प्रदेश सभा सदस्य सन्तोष पाण्डे,अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीहरुले खादा लगाइ  दिएर पुष्पगुच्छा सहित बिदाइ गरिएको  दर्नालले बताए ।
भर्ना भएका सबै कोरोना संक्रमित डिस्चार्ज भएपछि २५ बेड आइसोलेसन बेडमा नयाँ संक्रमित राख्न सकिने अस्पतालका सूचना अधिकारी गोपाल उपाध्यायले बताए ।