यस वर्ष एसईईको नियमित परीक्षा नहुने, विद्यालयको आन्तरिक मूल्याङ्‍कनबाटै परीक्षा

यस वर्ष माध्यमिक शिक्षा परीक्षा(एसईई) को नियमित परीक्षा नहुने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यस वर्ष नियमित परीक्षा नगरी कानुनी रुपमा मिलाएर विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा परीक्षा हुने निर्णय भएको उर्जा मन्त्री वर्षमान पुनले बताए । 
शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले यसको प्रस्ताव मन्त्रिपरिषद्‍मा लगेका थिए । मन्त्री पुनले एसईई खारेज नभइ विद्यालयलाई जिम्मा दिइएको बताए । यसमा पनि आन्तरिक परीक्षा र मूल्याङ्कन हुने उनले बताए ।
अबेर सकिएको मन्त्रिपरिषद्‍ बैठकका निर्णय औपचारिक रुपमा सार्वजनिक गरिएको छैन । सरकारका प्रवक्ताले भोलि बिहीबारमात्रै निर्णयबारे जानकारी दिने बताइएको छ ।
कोरोना भाइरस (कोभिड–१९) का कारण पूर्वनिर्धारित तालिकाअनुसार चैत ६ गतेबाट हुने एसईई परीक्षा अघिल्लो साँझ स्थगित गरिएको थियो । कान्तिपुरमा समाचार छ ।