बेइजिङमा स‌ंक्रमितको संख्या लगातार बढ्दै

-एजेन्सी/रोयटर्स 

बेइजिङ — चीनको राजधानी बेइजिङमा सोमबार फेरि थप २७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । झन्डै ५० दिनपछि पुन: संक्रमण देखिएको बेइजिङमा शनिबार र आइतबार ३६–३६ जनामा कोरोना देखिएको थियो ।

सबै संक्रमण स्थानीय स्तरमा फैलिएको चिनियाँ स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । योसँगै पछिल्ला ५ दिनमा गरी राजधानी बेइजिङमा संक्रमितको संख्या १०६ पुगेको छ । संक्रमितको संख्या बढेसँगै सरकारले बेइजिङको ३० वटा क्षेत्रमा लकडाउन गरिसकेको छ । त्यस्तै दशौं हजारको कोरोना परीक्षण गरिएको पनि बताइएको छ ।

सिन फा ती थोकबजारपछि मंगलबार अधिकारीहरुले छिचेङस्थित अर्को थोकबजार पनि बन्द गरेका छन् । त्यहाँको खाद्यान्न सामग्रीको थोकबजारमा कार्यरत तीन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको सीसीटीभीले बताएको छ । त्यस्तै बजारसँग जोडिएका आवासीय क्षेत्र र विद्यालयहरु पनि बन्द गरिएको छ ।

बेइजिङको जनसंख्या र संक्रमणको नयाँ क्लस्टरका कारणले संक्रमणले पुन: महामारीको रुप लिने हो कि भनेर विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) ले चिन्ता व्यक्त गरेको छ ।चीनको राजधानी बेइजिङमा २ करोड भन्दा बढी मानिस बसोबास गर्दछन् । ‘यस प्रकारको क्लस्टरमा संक्रमण देखिनु चिन्ताको विषय हो । यसलाई अनुसन्धान र नियन्त्रणमा ध्यान दिनु आवश्यक छ, जुन चिनियाँ अधिकारीहरुले गरिरहेका छन्,’ डब्लूएचओको आपत्कालीन विभागका निर्देशक डाक्टर माइकल ऱ्यानले भने । डब्लूएचओले संक्रमण तीव्र रुपले फैलिन सक्ने चेतावनी दिँदै परीक्षण र कन्ट्याक्ट ट्रेसिङको दायरा बढाउन चीनलाई सुझाव दिएको छ ।


बेइजिङका अधिकारीहरुका अनुसार सहरमा रहेका स्टलहरु, फूड मार्केट, रेस्टुरेन्ट र सरकारी क्यान्टिनका कर्मचारीको कोरोना भाइरस परीक्षण गरिने बभएको छ ।

त्यस्तै चीनको राष्ट्रिय स्वास्थ्य आयोगमा अनुसार हेबेई प्रान्तमा पनि चार जनामा संक्रमण देखिएको छ । त्यस्तै सिचुवान प्रान्तमा पनि एक जनामा संक्रमण देखिएको छ । चिनियाँ अधिकारीहरुका अनुसार कोरोना भाइरसका संक्रमित भेटिएको सिन फा ती बजारमा मे ३० यता करिब २ लाख जना व्यक्ति पुगेका थिए । बजारमा कार्यरत ८ हजारभन्दा बढी कर्मचारीको परीक्षण गरिएको छ ।

चीनमा पछिल्लो समय कोरोना भाइरसको संक्रमणबाट कसैको मृत्यु भएको छैन । त्यस्तै पछिल्ला दिनहरुमा संक्रमित हुनेको संख्यामा उल्लेख्य कमी आएको छ । तर केही बेइजिङलगायतका ठाउँमा देखिएको स्थानीय संक्रमणका कारण भने चीनमा पुन: यसले महामारीको रुप लिने हो कि भन्ने चिन्ता बढेको छ ।

चीनमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८४ हजार ३ सय ७८ जना पुगेको छ । संक्रमण पुष्टि भएकामध्ये ४ हजार ६ सय ३८ जनाको मृत्यु भएको छ । त्यस्तै चीनमा ७९ हजार ४ सय ८९ जना निको भएका छन् ।