छत्रदेवको छत्रगंज-दामजीमटारमा सलहले सखाप पर्‍यो, केही रहेन् (भिडियो, फोटो)

अर्घाखाँचीडट्कम संवाददाता 
दामजीमटार, अर्घाखाँची असार १७ गते (अर्घाखाँचीडट्कम) । दिनभर थाल र टिनका पाता ठटाउँदै अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वार्ड नम्बर  ५ छत्रगंजका स्थानियबासीले आकाशमा उडिरहेको सलहलाई भुइँमा बस्न दिएका थिएनन् । सलहको हुल हावाको बेगमा यताउता गरिरहेको थियो । दामजिमटारका किसानहरू धुवाँ पुत्ताउँदै, टिन ठटाउँदै र चिच्चाउँदै थिए । नचाहेर हो कि नसकेर हो, सलह दिनभर फाँटमा बसेन ।
घाम ढल्किएपछि अब त आउन्न होला भनी मानिसहरू दामजिमबाट आआफ्ना घरतिर उकालिए । केही सामुहिक खेती गर्ने किसानहरु भने फाँटमै बस्थे । जब साँझ पर्‍यो तब सलह दामजिमको आकाशमा फेरि सलह देखियो । दामजिम टारमा सामुहिक खेति गरिरहेका छत्रदेव एग्रिकल्चरका गिरिराज पन्थीले अर्घाखाँची डटकमसँग भने, “हेर्नुस् उँधो मथुरा खोलाबाट किरेनी परेर किराहरू आए । साँझ बेला फाँटमा सलहले सर्लक्कै जाल हान्यो ।”
पन्थीले भने, “आत्तिएर पाथी चार एक त मारेँ, त्यसपछि त के सकिन्थ्यो, सक्येन । हेर्दाहेर्दै मकैका पातहरुमा बस्यो । कङ्काल बाँकी राखेर अरु खाइदियो ।”
झमक्कै रात पर्‍यो । उनले भने, “राती पनि खाँदोरहेछ कि भनेर हेरेको खाँदोरहेनछ ।” त्यो रात सलह दामजिममै बास बस्यो ।
“कति जति थियो होला ?” भन्ने रिपोर्टरको प्रश्नमा उनले भने, “गनेर साध्य हुन्छ र ? सारा फाँट ढाकेको थियो । वरिपरीका जङ्गल खाली थिएनन् । लाखौँ करोडौँ होलान् नि ।” उनले अनुमान गर्न सकेनन् ।
असार १७, २०७७ को कान्तिपुर दैनिकको रिपोर्ट अनुसार कपिलवस्तुमा गएको शनिबार ७ हजार सलह मात्र आएका थिए, अर्कोदिन आइतबार पुनः ८ देखि १० लाख सलह छिरेका थिए । उही रिपोर्टिङ्गमा रुपन्देहीमा सोमबार १२ लाखको अनुमान गरिएको थियो ।
यदि यो अनुमान सत्य हो भने कपिलबस्तु र रुपन्देही माथिको पहाडी भेगका आकाशमा २०।२२ लाख सलह घुमिरहेका छन् । ति सप्पै सलह अर्घाखाँची पाल्पा र गुल्मीको आकाशमा घुमिरहेका छन् । ठाउँठाउँमा बसेर नोक्सान गरिरहेका छन् ।
असार १८ को कान्तिपुरको रिपोर्टिङ्गमा अर्घाखाँचीको सबै गाउँपालिकामा गरेर ३५ प्रतिशत मकैमा क्षति पुराएको छ । छत्रदेवका किसानलाई त मधेशतिर आएको सप्पै सलह आफ्नै टाउकोमा घुमिरहेको झैँ लागेको छ । यस्तो अत्यास अर्घाखाँचीका अरु गाउँपालिकाका किसानलाई पनि परेको छ ।
सलहको यस्तो अत्यास लाग्दो खबर सुनेर छत्रदेवका किसानहरु यतिबेला त्राही त्राही छन् । आकाशमा अनिकाल दौडिरहेको देखेर दामजिमटार वरिपरिका डिही, सिउँडेनी, ठूलापोखरा, खैरेनी, केरुङ्गो सप्पै गाउँलेहरू आत्तिएका छन् । भरोसा दिने कोही छैन । भाग्यको भरमा आकाशतिर हेरिरहेका छन् । सरकारले पनि केही गर्न सकेको छैन ।
तैपनि किसानहरुले आफूले सकेको गरेका छन् । विहानै सल्लीपिरल र सोत्तर लिन नजिकैको जङ्गलमा जान्छन् । दिनभर धुँवा पुत्ताएर बसेका छन् । थाल ठटाएर बसेका छन् । छत्रदेव ५ छत्रगञ्ज डिहीका एसएलसी दिएर बसेका सचिन पन्थीले भने, “दुइटा थाल खुच्चिइसके । चिच्चाउँदा स्वर बसेको छ ।” सुरूमा रमाइलो लागेपनि विस्तारै डर पसिरहेको छ । कोरोनाको डर भर्खरै ओरालो लागेको बेला सलहको डरले गाउँलेहरुलाई फेरि अत्याएको छ ।

अन्य समाचारहरु