कोरोनाभाइरसका कारण भारतमा एकैदिन झण्डै २५ हजार जना संक्रमित भएका छन् ।
सरकारी स्वास्थ्य अधिकारीहरुका अनुसार भारतमा पछिल्लो २४ घण्टामा २४ हजार आठ सय ५० जना संक्रमित भएका छन् ।
एकैदिन संक्रमित भएकाे यो संख्या अहिलेसम्मकै सवैभन्दा धेरै भएको पनि अधिकारीहरुले जानकारी दिएका छन् ।
केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आइतबार दिएको जानकारीअनुसार योसँगै भारतमा कुल संक्रमितको संख्या ६ लाख ७३ हजार एक सय ६५ पुगेको छ ।
तीमध्ये दुई लाख ४४ हजार आठ सय १४ जना अहिले पनि उपचारको क्रममा रहेको मन्त्रालयले जनाएको छ ।
त्यसैगरी संक्रमणमुक्त हुनेकाे संख्या पनि भारतमा उच्च छ । आइतबारसम्म चार लाख नौ हजार ८२ जना संक्रमणमुक्त भएकाे मन्त्रालयको तथ्यांकमा छ ।
मन्त्रालयका अनुसार भारतमा कोरोनाभाइरसबाट मृत्यु भएकाहरुको कुल संख्या १९ हजार दुई सय ६८ पुगेको छ । ती मध्ये ६ सय १३ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको छ ।
प्रदेश अनुसार सवैभन्दा धेरै प्रभावित अझै पनि महाराष्ट्र नै छ । महाराष्ट्रमा अहिलेसम्म दुई लाख ६४ जना संक्रमित भएका छन् भने आठ हजार ६ सय ७१ जनाको मृत्यु भएको छ ।
त्यसैगरी दोस्रो धेरै प्रभावित तमिल नाडु प्रदेशमा एक लाख ७ हजार एक जना संक्रमित हुदाँ एक हजार चार सय ५० को मृत्यु भएको छ ।
त्यसैगरी केन्द्रीय राजधानीसमेत रहेको दिल्ली प्रदेशमा ९७ हजार दुई सय जना संक्रमित भएका छन् । एजेन्सी