विश्वका प्रथम महिला हरु , के हाम्रो समाजलाई पच्न सक्छ त ? – उमाकान्त पाण्डे गाउले

बिज्ञापन –  विश्व समाचारका लागि न्यूयोर्क, लण्डन, मैड्रिड, ब्युनस आयर्सबाट एकै साथ प्रकाशित हुने अन्तरराष्ट्रिय दैनिकी www.timesofearth.com THE TIMES OF EARTH.File:Sandhikharaka.jpg

(बिबिध स्रोत हरुको माध्यम बाट हाम्रा मध्यपुर्व प्रमुख प्रतिनिधि उमाकान्त पाण्डे गाउले बाट प्राप्त खोजमुलक लेख )

 

१. कार्ला ब्रुनी
कार्ला ब्रुनी फ्रेन्च राष्ट्रपति निकोलस सार्काजीकी तेस्री पत्नी हुन् । ब्रुनी पूर्वसुपरमोडेल हुन् । उनी गीत-लेखिका तथा गायिका पनि हुन् । तीनवटा एल्बम निकालिसकेकी छिन् उनले । सन् २००८, जुलाईमा उनको तेस्रो एल्बम निक्लिएको थियो । यो एल्बम फ्रान्स र अरू देशमा गरी पाँच लाख प्रति बिक्री भएको थियो । एल्बम बिक्रीका दृष्टिकोणले फ्रेन्च प्रथम महिलालाई प्रशस्त सम्भावना भएकी गायिका भन्न सकिन्छ । उसो त, सार्काजीसँग बिहे हुनुअघि मोडलिङ क्षेत्रमा पनि जमेकी थिइन् उनी । ब्रुनीले राष्ट्रपतिकी पत्नी भए पनि आफू राजनीतिक व्यक्तित्व नभएको घोषणा गरिसकेकी छिन् ।

२. सारा ब्राउन
बि्रटिस प्रधानमन्त्री गोर्डान ब्राउनकी पत्नी सारा ब्राउन मिडिया-मैत्री छैनन् । लोककल्याणकारी कार्यहरूमा अत्यन्त समर्पित यी बि्रटिस प्रथम महिला सार्वजनिक समारोहहरूमा आक्कलझुक्कल मात्रै देखिन्छिन् । पत्रकारहरूसित टाढै रहन मन पराउने उनलाई अन्तर्वार्ता दिनुजस्तो अपि्रय विषय अरू केही लाग्दैन । समाजसेवा र लोककल्याणमा खटिरहेकी सारालाई ‘चर्चा’ एकदमै बकवास लाग्छ । कुनैवेला होब्सवम माकाउले कम्युनिकेसन्स नामक पब्लिक रिलेसन्स कम्पनीको संस्थापक साझेदार रहेकी सारालाई मिडियाप्रति अनावश्यक वितृष्णा राख्ने सार्वजनिक व्यक्तित्वहरूमा लिइन्छ ।सारा र गोर्डानको पहिलो भेट लेबर पार्टीको एक कार्यक्रममा भएको थियो । सन् १९९४ मा लन्डनबाट स्कटल्यान्ड जाने क्रममा हवाईजहाजमा दुवै सँगै परेपछि भने उनीहरूको प्रेमले पहिलो उडान भरेको थियो । त्यसको ६ वर्षर्पछि उनीहरूले विवाह गरेका थिए ।

३. लाउरिन हार्पर
क्यानडाका प्रधानमन्त्री स्टेफन हार्परलाई राजनीतिमा पनि असाध्यै सघाउँछिन् प्रथम महिला लाउरिन हार्पर । आफ्नो श्रीमान्को राजनीतिक प्रचार-प्रसारमा खुलेर लाग्छिन् उनी ।फोटोग्राफीकी शौखिन लाउरिन एक डिजाइन कम्पनीको मालिकसमेत हुन् । प्रथम महिलाको व्यस्त जीवन र पारिवारिक जिम्मेवारीका कारण उनले व्यापारबाट भने सन्न्यास लिइसकेकी छिन् । लाउरिन धेरै कुरामा सोख राख्छिन् । मोटरसाइकल चलाउनु, थरीथरीका बिराला पाल्नु आदि उनका अभिरुचिका विषय हुन् । अत्यन्त व्यस्त, चुस्त र चलाख प्रथम महिला मानिन्छिन् लाउरिन ।

४. रानिया अल अब्दुल्लाह
भनिन्छ- जोर्डनकी रानी रानिया जब सार्वजनिक समारोहमा देखिन्छिन्, उनको सौन्दर्यमा भीड लठ्ठ पर्ने गर्छ । हुन पनि चार बच्चाकी आमा रानिया बित्पातै राम्री छिन् ।प्यालेस्टिनी शरणार्थी परिवारमा जन्मेकी रानिया संसारका सबभन्दा शक्तिशाली महिलामध्ये एक मानिन्छिन् । बिजनेस एडमिनिस्ट्रेसनकी स्नातक उनले अमानस्थित एपल कम्प्युटरमा केही समय काम गरेकी थिइन् । राजा अब्दुल्लाह द्वितीयकी पत्नी रानिया विश्वव्यापी प्राथमिक शिक्षा अभियानकी प्रखर प्रवक्ता मानिन्छिन् । उनले शिक्षाका क्षेत्रमा धेरै काम गरेकी छिन् ।संसारले रानियालाई अरबी महिलाका प्रगतिशील मूल्यहरूको सुन्दर प्रतीकका रूपमा मान्ने गरेको छ ।

५. लेतिजिया ओर्तिज रोकासोलानो
स्पेनकी युवराज्ञी लेतिजिया ओर्तिज रोकासोलानो प्रसिद्ध कार्यक्रम प्रस्तोता थिइन् । आर्थिक च्यानल ब्लुमबर्गको स्पेनी शाखालगायत सिएनएन प्लस आदि समाचार संस्थाकी चर्चित होस्टेस थिइन् उनी । सन् २००४ मा युवराज फिलिपसँग उनको विवाह भएको थियो । एक शताब्दीपछि स्पेनको राजधानी म्याडि्रडमा कुनै शाही विवाह सम्पन्न भएका कारण उनीहरूको विवाह ऐतिहासिक हुन पुगेको थियो । लेतिजियाको पहिलो विवाह भने एक शिक्षकसँग भएको थियो । युवराज्ञी लेतिजिया अहिले बालअधिकार, संस्कृति र शिक्षाजस्ता सामाजिक विषयमा काम गरिरहेकी छिन् ।

६. स्वेतलाना मेद्भेदेभ
समाजसेवा सबैजसो राष्ट्रका प्रथम महिलाको अभिरुचिको विषय हुने गर्छ । रसियाकी प्रथम महिला स्वेतलाना मेद्भेदेभ पनि आफ्नो प्रभाव र शक्तिलाई समाजको हितमा उपयोग गर्न चाहन्छिन् । प्रथम महिला भएको दिनदेखि नै उनले आफूलाई सामाजिक काममा समर्पित गरेकी छिन् । रसियाली कलालाई संसारभरि फिँजाउन यससम्बन्धी महोत्सवहरूलाई प्रवर्द्धन गरिरहेकी छिन् उनी । साथसाथै, रुसी टिनएजरहरूका लागि नैतिक शिक्षाको वकालत पनि गरिरहेकी छिन् । प्रथम महिलाका हैसियतले सभ्य र शिष्ट रुसी समाज निर्माणका लागि स्वेतलाना सक्दो प्रयत्न गरिरहेकी छिन् ।

७. अस्मा अल-असाद
विश्व राजनीतिमा सबभन्दा स्टाइलिस महिला को हो ? निक्र्योल गर्न गाह्रो छ । किनभने अचेल धेरै देशका राष्ट्रप्रमुखका पत्नीहरू ‘कोभन्दा को कम’ शैलीमा फेसन र स्टाइलका रंगमा रंगिन थालेका छन् । तर, विश्वप्रसिद्ध फ्रान्सेली पत्रिका एल्लेले विश्व-राजनीतिको सबभन्दा स्टाइलिस महिलाको ताज भने सिरियाकी प्रथम महिला अस्मा अल-असादलाई पहिराइदिएको छ ।

८. मिसेल ओबामा
महाशक्ति राष्ट्र अमेरिकाका प्रथम अफ्रिकी-अमेरिकी राष्ट्रपति बाराक ओबामाको भन्दा उनकी पत्नी मिसेल ओबामाको कम्ती चर्चा हुने गर्दैन भनियो भने गलत नहोला । प्रथम अमेरिकी महिला मिसेल सुन्दर त छँदै छिन्, चौपट्टै बाठी पनि छिन् । लोकपि्रय हुनका लागि प्रयोग गर्नुपर्ने सबै सूत्र कण्ठ छ उनलाई । मिडियासँग कसरी डिल गर्नुपर्छ, आफूलाई सार्वजनिक रूपमा कसरी प्रस्तुत गर्नुपर्छ- उनले राम्ररी जानेकी छिन् ।मिसेलको सबभन्दा उल्लेख्य पक्ष भनेको उनको फेसन-चेतना हो । लवाइमा उनको ‘टेस्ट’लाई सबैले तारिफ गर्छन् । अमेरिकी मिडियाले बाराक ओबामालाई मार्टिन लुथर किङ जुनियरसित तुलना गर्छ भने मिसेललाई ज्याक्वेलिन केनेडीसित । भूतपूर्व अमेरिकी राष्ट्रपति जोन एफ केनेडीकी पत्नी ज्याक्वेलिनको पोसाक-चेतना भव्य थियो । मिसेललाई करेसाबारीमा खनीखोस्री गर्ने सोख पनि छ । ह्वाइटहाउसको बगैँचामा उनी प्रदूषणमुक्त तरकारी फलाइरहेकी हुन्छिन् ।

 

—————

हामीलाई समाचार, लेख, फोटो-भिडियोहरु लगायत कमेन्टस् लेख्दा आफ्नो पुरा नाम, देश/ठेगाना, फोन नम्बर सहित खुलाएर info@sandhikharka.com  मा एवम मध्यपुर्वबाट कुनै पनि समाचार-सामाग्री पठाउनको लागि हाम्रा मध्यपुर्व प्रमुख सम्वादाता उमाकान्त पाण्डे गाउलेको नाममा सम्बोधन गरी  umakantapandey@sandhikharka.com  मा पठाउन अनुरोध गरिन्छ ।