मंगलबार लगातार तेश्रो दिन सरकारको विरोध गरिरहेका दशौं हजार प्रदर्शनकारीहरुमध्ये धेरैजसोले रातो कमीज लगाएका थिए।
यस अघि पहेंलो कमिज लगाएका हजारौं प्रदर्शनकारीहरुले सन् २००६ मा कैयौं दिनसम्म तत्कालिन सरकारका विरुद्ध प्रदर्शनहरु गरेपछि थाइ सेनाले सत्ता आफ्नो हातमा लिएको थियो।
कतिपय विश्लेषकहरु थाइल्याण्डको राजनीतिलाई रङगहरुको राजनीति पनि भन्दछन्।
गएको तीन दिनदेखि राजधानीका सडकहरुमा प्रदर्शन गरिरहेका रातो कमीज लगाएका दशौं हजार प्रदर्शनकारीहरुको प्रेरणाको स्रोत भूतपूर्व प्रधानमन्त्री थाक्सिन सिनावाट हुन्।
रमाइलो कुरा के छ भने झण्डै साढै तीन वर्ष अघि पहेंलो कमीज लगाएका दशौं हजार प्रदर्शनकारीहरुले कैयौं दिनसम्म राजधानीका सडकहरुमा विरोध प्रदर्शन गरेपछि थाइ सेनाले थाक्सिनलाई सत्ताच्युत गरी शासन आफ्नो हातमा लिएको थियो।
गठबन्धन
पहेंलो कमीज लगाएका प्रदर्शनकारीहरु लोकतन्त्रकालागि नागरिक गठबन्धन पिएडिसंग सम्बद्ध थिए।
यसमा राजावादीहरु, व्यापारी तथा शहरिया मध्यमवर्गको बाहुल्य थियो।
उनीहरुले तत्कालिन प्रधानमन्त्री थाक्सिनलाई भ्रष्ट व्यक्ति भन्दै थाइ नरेशप्रति सम्मान जनाउन पहेंलो कपडा लगाएको बताएका थिए।
रातो कमीज लगाउने प्रदर्शनकारीहरु चाहिं तानाशाहीका विरुद्ध लोकतन्त्रकालागि संयुक्त मोर्चा भनिने समुहसंग आवद्ध छन्।
उनीहरुमध्ये धेरैजसो थाइल्याण्डका गाउंहरुमा बस्ने किसान, विद्यार्थी र मजदुरहरु छन्।
उनीहरु भूतपूर्व प्रधानमन्त्री थाक्सिन सिनावाटका कट्टर समर्थक हुन्।
उनीहरु डेमोक्याट पार्टीका नेता अभिसित भेजाजीभाले नेतृत्व गरेको वर्तमान सरकारलाई अवैध भन्दछन्,
तर प्रधानमन्त्री भेजाजीभाले आफ्नो पदबाट राजीनामा गर्न अस्वीकार गरिदिएका छन्।
जानकारहरु भन्छन्, रंगहरुमा आधारित सांकेतिक राजनीतिबाट थाइल्याण्डले छिट्टै मुक्ति पाउने संभावना चाहिं अझै देखिंदैन।