केशव ढुंगाना, रेडियो नेपाल
काठमाडौं । आज थप १ सय ७ जना कोरोना भाइरस संक्रमण मुक्त भई घर फर्किएका भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको नियमित प्रेस व्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले आज १ सय ७ जना संक्रमण मुक्त भएपछि संक्रमण मुक्त हुनेको कूल संख्या १२ हजार ९ सय ४७ पुगेको जानकारी दिनुभयो ।
यसैगरी आज ३ हजार ९ सय ८७ वटा नमूनाको रियाल टाईम पिसीआर विधिबाट परीक्षण गर्दा थप १ सय ३३ जनामा संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका आनुसार देशका विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरहरूमा ५ हजार ३ सय ८३ जना सक्रिय संक्रमितको उपचार भईरहेको छ ।
संखुवासाभा, पाँचथर, भोजपुर, रसुवा, मनाङ र मुस्ताङ् गरी ६ जिल्लाका सम्पूर्ण संक्रमित निको भइसकेका छन् भने रौतहट, कैलाली र बाजुरामा ५ सय जना भन्दा बढी सक्रिय संक्रमितहरू रहेको प्रवक्ता प्रा.डा. गौतमले जानकारी दिनुभयो ।
यसैगरी आज थप १ जनाको मृत्यु भएपछि नेपालमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या ४४ पुगेको छ ।
वीरगञ्ज महानगर पालिका वडा नं. ११ श्रीपुर, रानीघाट निवासी ८५ वर्षिय महिलाको आज नारायणी अस्पताल वीरगञ्जमा उपचारका क्रममा मृत्यु भएको मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।