चौतर्फी दबाबपछि महाअभियोग लगाउने मनस्थितिमा दलहरु

रोमन आचार्य र भरत केसी (इमेज)
काठमाडौं, साउन ९ । पत्नी हत्यामा सर्वस्वसहित जन्मकैदको सजाय पाएका सशस्त्र प्रहरीका पूर्वनायब महानिरीक्षक (पूर्वडीआईजी) रञ्जन कोइरालालाई सजाय छुटको फैसला सुनाउने सर्वोच्च अदालतका प्रधानन्याधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश प्रकाशबहादुर केसीमाथि महाअभियोग लगाउन चौतर्फी दबाब बढेको छ ।
सामाजिक सञ्जालदेखि सार्वजनिक मञ्चमा समेत चर्कोरुपमा यो विषय उठेपछि प्रमुख राजनीतिक दलहरु प्रधानन्यायाधीशलाई महाअभियोग लगाउनेबारे आन्तरिक छलफलमा जुटेका छन् ।
सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश प्रकाशबहादुर केसीको संयुक्त इजलासले १८ वर्ष पुरानो न्यायालयकै नजिरलाई उल्ट्याउदै पूर्वडीआईजी रञ्जन कोइरालालाई सजाय छुट दिने भनी गरेको फैसला अहिले न्यायिक इतिहासमै कलंकित बनेको छ ।
२०७१ सालमा काठमाडौं जिल्ला अदालतले कोइरालालाई सर्ववस्वसहित जन्मकैदको सजाय भनी गरेको फैसलालाई २०७२ सालमा पुनरावेदन अदालतलेसमेत सदर गरेको थियो ।
तर, तल्ला दुई अदालतको फैसला उल्टाएर जघन्य अपराधमा मुछिएका कोइरालालाई उन्मुक्ति दिने फैसला ‘श्रीमान्’हरुले गरिदिनुभयो ।
यसले राणा र केसीको न्याय सम्पादन क्षमताको प्रश्नमात्र उठेको छैन, उनीहरुमाथि महाअभियोगको तरबारसमेत झुन्डिने सम्भावना बढेको छ ।
संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरु राणा र केसीमाथि महाअभियोग लगाउन सकिने बताउन थालेका छन् ।
सत्ताधारी दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र महाअभियोगको विषयमा छलफल हुने भएको छ ।
संविधानको धारा १०१ को उपधारा २ मा महाअभियोगसम्बन्धी प्रावधान छ । संविधानको सो प्रावधानअनुसार नेकपाले महाअभियोगको कदम चाले विपक्षी दल नेपाली कांग्रेसले साथ दिने देखिएको छ ।
संसदको तेस्रो ठूलो दल जनता समाजवादी पार्टीका वरिष्ठ नेता बाबुराम भट्टराइले ट्वीटमार्फत् अपराधका संरक्षक न्यायाधीशमाथि महाभियोग लगाउनैपर्ने धारणा राख्नुभएको छ ।
उसो त यसअघि २०७४ वैशाखमा तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीमाथि नेपाली कांग्रेस र तत्कालीन माओवादीले व्यवस्थापिका संसदमा महाअभियोग प्रस्ताव दर्ता गरेका थिए ।
कार्कीलाई महाअभियोग लगाउँदा आलोचित दलहरुले अहिले राणा र सिंहमाथि महाअभियोग लगाउने हो भने वाहवाही कमाउने परिस्थिति निर्माण भएको छ । इमेजखबरमा समाचार छ ।