सप्तकोशीमा पानीको बहाव फेरी उच्च, ५६ मध्ये ३२ ढोका मात्रै भारतले खोल्यो, खतरा बढेपछि रातो बती बालियो

सुनसरी । सप्तकोशी नदीमा पानीको बहाव फेरी बढेको छ । आज बिहान सप्तकोशीमा पानीको बहाव झन बढेको छ ।
बिहान ६ बजेको मापन अनुसार सप्तकोशीमा पानीको बहाव बढेर प्रतिसेकेण्ड २ लाख ५ हजार ६ सय ७५ क्युसेक पुगेको सशस्त्र प्रहरी बल ४ नम्बर गण सुनसरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक कृष्ण ढकालले बताउनुभयो ।
पानीको बहाव उच्च हुँदा समेत भारतले सप्तकोसी ब्यारेजका ५६ मध्ये ३२ वटा मात्र ढोका खोलेको छ । सप्तकोसीमा मंगलवार पानीको बहाव प्रतिसेकेण्ड एकलाख ८२ हजार एकसय क्युसेक पुगेको थियो ।
सप्तकोशीमा एकलाख ५० हजार क्युसेक पानीको बहाव पुगेपछी खतरा मानिन्छ । सप्तकोसीमा पानीको बहाव खतरा उन्मुख भएको भन्दै कोसी आसपासका क्षेत्रमा नजान स्थानीय प्रशासनले स्थानीयलाई आग्रह गरेको छ ।
सप्तकोशीमा पानीको बहाव उच्च भएपछी उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली तयारी अवस्थामा राखिएको छ ।
सप्तकोशीमा खतराको रातो बत्ती बालिएको छ भने ब्यारेजको दुबै तर्फ २ वटा रातो झण्डा समेत फहराइएको छ । इमेजखबरमा समाचार छ ।