पिताम्बर बन्जाडे
सोंच्ने ,सम्झने र ,तर्क गरने ,
माया हुने भावमा ।
धर्तीको हो अपूर्व, जादु रचना ,
मानिस संसारमा ।।
हातमा सृजनका,कति रुपहरू ,
विणा बहन्छन् गला ।
आफू अनित्य नै ,छ तर पनि ,
मर्दैन उस्को कला ।।
बुझ्नेलाई धेर छन्, जगतमा ,
बुझ्ने अनेकौं कुरा ।
जो बुझ्दैनन् फगत, मनका ,
चल्छन् जहरका छुरा ।।
मान्छे एउटै भनिन्छ , जगतमा ,
रुपै फरक् छन् कति ।
रुपै भिन्न भएसरी, फरक छन् ,
मानिसका ती मती ।।
सुन्मा छैन कुनै , सुगन्ध तपनि ,
बेच्छन् महंगो कति ?
गुणै छैन तथापि ,पूज्यनीय नै ,
ठान्छन् करोड्का पति ।।
आई खाली हात , यस् जगतमा ,
जानु छ खाली बनी ।
गर्दा झुट्टा काम र , मोह बसमा ,
सोंच्तैन मर्छु भनी ।।
मान्छे नै हो साक्षात्, भगवान , सदभाव् पलाए पछि ।
मान्छे नै त्यही हो ,पिचास जगको ,
दूर्भाव छाए पछि ।।
रुपैका रसमा र , राग धनमा , मानै अहंको गरे ।
बूढो रुख त्यो ढले ,सरी हुँदा ,
पंक्षी पनि गुँड सरे ।।
चाहे त्यो अरवै पति, पनि बनोस् ,
चाहे पुगोस् जून छुन ।
जस्मा छैन ज्ञान विवेक, यदि भने ,
सक्तैन मानिस् हुन ।।
पहिले पुत्र थियो , पछि पति भयो ,
अन्तिम पिता बनी ।
त्याग्नु इहलीला छ , यो जगतमा ,
अन्तिम सत्यै भनी ।।
अस्तु: