अर्घाखाँचीडट्कम संवाददाता
जलुके, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँचीको शितगंगा नगरपालीकाले अपाङ्गता भएका व्यक्तिहरूलाई लक्षित गरी आयोजना गरिएको अपाङ्गता परिचय पत्र वितरण घुम्ती शिविर जारी रहेको छ ।
नगरले वडामा गएर आपाङगता परिचय पत्र दिन थालनी गरेको छ । शितगंगा नगरपालिकाको वडा नं. ८ जलुके, ९ र ११ सिद्धारामा शारीरिक र मानसिक रुपमा अशक्त भएको कारण उनको परिचय झल्काउने अपाङ्गता परिचय–पत्र वडा कार्यालयबाट वितरण गरिएको छ । शितगंगा नगरपालिकाको आयोजनामा वडा नं. ८ का २४ जना, वडा नं. ९ का ३३ जना र वडा नं. ११ का १८ जना गरी ७५ जनाको परिचय पत्र नविकरण गरी वितरण गरिएको छ । शितगंगाका प्रमुख प्रशासकिय अधिकृत अर्जुन गौतमको नेतृत्वमा संचालन घुम्ती सिविर संचालन भएको हो ।
नगर कार्यालय सम्म आउन नसक्ने अशक्तहरुलाई वडामै गएर परिचय पत्र नविकरण तथा वितरण गर्ने व्यवस्था गरेको प्रमुख प्रशासकिय अधिकृत अर्जुन गौतमले बताउनु भयो । आपाङगता परिचय–पत्र वितरणका क्रममा अधिकृत गौतमले अहिले सम्म परिचय पत्र नलिएका र परिचय-पत्र लिएर पनि नविकरण नगरिएका अपाङ्गता भएका नागरिकलाई सहयोग पुर्याउने उद्धेश्यले घुम्ती सिविर मार्फत वडामा गएर सेवा दिन थालनी गरेको उहाँले बताउनु भयो । अशक्त व्यक्तिहरुको सहजतालाई ध्यानमा राखेर सिविर संचालन गरिएको घुम्ती सिविरको क्रममा वडा नं. ११ मा वितरण गर्दै उहाँले सो कुरा बताउनु भएको हो । वडामा लक्षित वर्गको लागि बजेट विनियोजन हुने हुँदा दिर्घकालिन फाइदा पुग्नेगरी योजना बनाएर कार्यान्वयन गराउन सबै लाग्नु पर्नेमा जोड दिनुभयो । सबै अपाङ्गता भएका व्यक्तिलाई समेट्ने गरी अपाङ्गमैत्री विकासमा सबै लाग्नु पर्ने उहाँको भनाई छ ।
तिनै वडाका अध्यक्षहरूले अपाङ्गमैत्री विकासको लागि वडा लागी परेको बताएका छन । उनीहरुले वडा भित्र रहेका अशक्त व्यक्तिहरुलाई प्रत्यक्ष फाइदा पुग्ने गरी कार्यक्रम ल्याउने प्रतिबद्धता जनाएका हुन् । शिविर कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत अर्जुन गौतमको नेतृत्वमा नगरपालिकाका सुचना अधिकृत ओम प्रकाश पाण्डे, प्राथमिक स्वास्थ्य केन्द्र ठाडाका डा. विपिन ढकाल, रोजगार संयोजक नरमाया सुवेदी सहितको टोली सँगै सम्बन्धित वडाका अध्यक्ष तथा प्रतिनिधी, वडा सचिवको उपस्थिति रहेको थियो ।
संघीयता पछि स्थानीय सरकारका जनप्रतिनिधि निर्वाचित भएपछि अपाङ्गता परिचय-पत्र आफ्नै वडा कार्यालयमा पाउँदा अपाङ्गगता भएका व्यक्तिहरु खुसि भएका छन् ।आफूहरुलेनै मत दिएर जिताएका जनप्रतिनिधिले गाउँमै आएर अपाङ्गता परिचय पत्र दिएको र नविकरण नभएको परिचय पत्रलाई नविकरण गरिदिएकोले नागरिकहरुले पनि खुसी व्यक्त गरेका हुन् ।
अपाङ्गता भएका व्यक्तिहरु र जेष्ठ नागरिकलाई जीविको पार्जनमा समेत टेवा पुग्नेगरी वडाले योजनाहरु बनाई कार्यान्वयन गर्न र अपाङ्ग मैत्री विकासमा जोड दिन आवश्यक रहेको सहभागीहरुले जोड दिएका छन ।