काठमाडौं । विदेशबाट आउने व्यक्तिहरुले पीसीआर परीक्षणसहित एक हप्ताको होटल क्वारेन्टीनको खर्च आफैले तिर्नुपर्ने भएको छ ।
फर्कन चाहने व्यक्तिले लिखित प्रतिवद्धता गरेपछि मात्र हवाइ टिकट पाउने भएका छन् ।
यसअघि उद्दार गरी ल्याइएका केही व्यक्तिहरुले होटलमा बस्न बार्गेनिङ गरेकाले विदेशबाटै लिखित प्रतिवद्धता गराएर ल्याउन लागिएको काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिनुभयो ।
दाहालका अनुसार आफै खर्च गर्न नसक्नेहरु स्वदेश आउन नपाउँने भएका छन् ।
यसअघि मन्त्रीपरिषद बैठक बसेर सरकारले गृह सचिवको संयोजकत्वमा एकीकृत क्वारेन्टाइन निर्माण व्यवस्थापन समिति गठन गरेको थियो ।
स्थानीय तहका प्रतिनिधि, स्वास्थ्य मन्त्रालय र सहरी विकास मन्त्रालयका प्रतिनिधि तथा प्रमुख जिल्ला अधिकारीहरु रहेका छन् ।
समितिले होटल क्वारेनटाइनहरुको स्थल पहिचान गर्ने, अनुगमन गर्ने, खर्चको व्यवस्थापनका लागि सिफारिस गर्ने लगायतका काम गर्ने जनाइएको छ ।
यता, होटल व्यवसायीहरुले क्वारेन्टाइन व्यवस्थापनको तयारी शुरु गरेको जानकारी दिएका छन् ।
एयरपोर्ट होटलका व्यवस्थापक रामकुमार बन्जाराले नेपाल पर्यटन बोर्डले तोकेको स्वास्थ्य सुरक्षाको मापदण्डलाई पूर्ण रुपमा पालना गर्दै तयारी भइरहेको जानकारी दिनुभयो ।
सरकारले भदौं १६ बाट दैनिक ५ सय यात्रु लिएर उडान सञ्चालन गर्न निर्णय गरेको छ ।
यो प्रयोजनका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उडान तालिका बनाउने जिम्मेवारी पाएको छ ।
टिकट खरिदका लागि कुनैपनि यात्रुको ७२ घण्टाभित्र पीसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको हुनुपर्ने छ । इमेजच्यानलमा समाचार छ ।