अमेरिकामा डेमोक्र्याटले जित्नु भनेकै धाँधली हुनु हो: राष्ट्रपति डोनाल्ड ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोभेम्बर महिनामा हुने राष्ट्रपति निर्वाचनमा डेमोक्र्याटले जित्नु भनेकै धाँधली हुनु हो भन्ने जिकिर गर्नुभएको छ ।
रिपब्लिकन पार्टीले आउँदो नोभेम्बरमा हुने राष्ट्रपति चुनावका लागि औपचारिक रुपमा उम्मेदवार घोषणा गरेलगत्तै सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले विपक्षी डेमोक्र्याटले धाँधली नगरी चुनाव जित्नै नसक्ने आरोप लगाउनु भएको हो ।
विपक्षीले आउँदो चुनावमा धाँधली गर्न सक्ने भन्दै उनीहरुले कोरोना भाइरसको महामारीलाई अमेरिकी नागरिकलाई धोका दिन प्रयोग गर्ने आरोप पनि लगाउनुभयो ।
नर्थ क्यारोलाइनामा राष्ट्रिय सम्मेलनको पहिलो दिन रिपब्लिकन प्रतिनिधिहरुलाई सम्बोधन गर्दै हुलाक मार्फत हुने मतदानमा धाँधली हुने पनि बताउनुभयो ।
विपक्षीले चुनाव जित्नै नसक्ने भन्दै ट्रम्पले भन्नुभयो ‘उनीहरुले यो चुनाव जित्ने भनेको धाँधली भयो भने मात्रै हो । हामीले नै जित्ने छौँ ।’
कोरोना भाइरसको महामारीका कारण यस वर्ष धेरै अमेरिकीले हुलाक मार्फत मतदान गर्ने सम्भावना रहेकोमा ट्रम्प पछिल्लो समय हुलाक मार्फत हुने मतदानमा धाँधली हुने बताउँदै आउनुभएको छ ।
ट्रम्पले आफ्नै प्रशासनप्रति अविश्वास व्यक्त गरे पनि स्वतन्त्र विज्ञहरुले भने त्यस्तो कुनै सम्भावना नरहेको र हुलाक मार्फत हुने मतदान पूर्ण रुपमा धाँधली रहित र निष्पक्ष हुने बताउँदै आइरहेका छन् ।
कोरोना महामारीलाई देखाउँदै चुनाव नै पछि सार्नुपर्ने पक्ष तर्क गर्नुहुने ट्रम्पप्रति रिपब्लिकन पूर्वराष्ट्रपतिहरु नै असन्तुष्ट देखिएका थिए ।
आउँदो नोभेम्बर ३ मा हुने चुनावमा ट्रम्पको पूर्वउपराष्ट्रपति समेत रहेका डेमोक्र्याट उम्मेदवार जो बाइडेनसँग सीधा प्रतिष्पर्धा हुँदैछ । सर्वेक्षणहरुले ट्रम्पलाई बाइडेनभन्दा पछाडि देखाइरहेको छ । एजेन्सी