शोभाखर पन्थी
सन्धिखर्क, अर्घाखाँची /भदौ -२८ । नेपाल कम्युनिस्ट पार्टी नेकपा अर्घाखाँचीले कुनै पनि बहानामा बिकास निर्माणको काम रोक्न नहुने जनाएको छ । नेकपा जिल्ला कार्यालयको सन्धिखर्कमा सम्पन्न बैठकले अघिल्लो बर्ष समयमै काम हुन नसक्दा धेरै बजेट फ्रिज भएको प्रति चिन्ता व्यक्त गर्दै बिकास निर्माणको कामलाई तिब्रता दिनुपर्नेमा जोड दिएको छ।
बैठकले बजेट अनुसारपारदर्शी र प्रभावकारी रुपमा काम हुन नसकेमा जनतामा अबिस्वास सिर्जना हुने भन्दै, आफ्नो ठाउँमा भएका बिकास निर्माण कार्यमा सहयोग र अनुगमन गर्न कार्यकर्ता पङ्ती लाई निर्देशन समेत गरेको छ ।
नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष चेतनारायण आचार्यको अध्यक्षता, सचिव ठाकुर कुमार बि.क.को संचालन र नेकपाका नेता तथा राष्ट्रिय सभाका सदस्य चन्द्रबहादुर खड्का उज्वलको प्रमुख अतिथ्यतामा सम्पन्न बैठकले कोभिड १९ रोकथाम ,नियन्त्रण र व्यवस्थापनको निम्ति अहोरात्र खटिने स्वास्थ्यकर्मी ,सुरक्षाकर्मी ,जनप्रतिनिधि ,संघसंस्था लगायत सबै पक्षलाई धन्यावाद ज्ञापन गर्दै निरन्तर सहयोगको निम्ति आग्रह गरेको छ ।
विश्व जनसमुदाय नै कोभिड १९ का कारण अस्त व्यस्त भएको भन्दै बैठकले असहजताका बीच पनि सरकारलाई सहयोग गरेकोमा आम जनतालाई धन्यवाद समेत प्रदान गरेको छ । साथै बैठकले कोरोना भाईरस बारे जनचेतना अभिबृद्धि गर्दै जनताको सेवामा समर्पित हुन मातहतका कमिटी लाई निर्देशन समेत गरेको छ ।
बैठकमा नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता तथा प्रदेश सभाका सदस्य रामजी प्रसाद घिमिरे ,प्रदेश कमिटीका सदस्यहरु नरेन्द्र कुमार क्षेत्री ,छमकुमारी खनाल चिनारी ,तोजबहादुर रायमाझी ,कुटमदिन अलि लगायतको उपस्थिति रहेको कार्यालय सदस्य पिताम्बर भुसालले बताउनुभयो ।