काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको संख्या थप गर्न अनुमति दिएको छ ।
लामो समयको लकडाउनपछि हवाइ तथा स्थल यातायात सेवा सुचारु भएसँगै यात्रुको चाप बढेपछि प्राधिकरणले आन्तरिक उडानको संख्या थप्न अनुमति दिएको हो ।
निजी हवाई सेवा प्रदायकहरुले यात्रुको चाप बढेको भन्दै उडान संख्या बढाउन माग गर्दै आएका थिए ।
आज(विहीबार)देखि आन्तरिक हवाई उडान गर्ने विभिन्न आठ निजी वायुसेवा कम्पनीका जहाजले दैनिक ७४ वटा उडान गर्ने भएका छन् ।
६ महिनापछि गत असोज ५ गतेदेखि उडान थालेका ती कम्पनीलाई २५ प्रतिशत मात्रै उडान गर्न प्राधिकरणले अनुमति दिएको थियो ।
नयाँ तालिका अनुसार अब बुद्ध एयरले सबै भन्दा बढी दैनिक २९ वटा उडान गर्न पाउने छ । बुद्धले यसअघि दैनिक १८ वटा उडानको अनुमति पाएको थियो ।
यस्तै यति एयरलाइन्सलाई दैनिक १९ वटा उडानको अनुमति पाएको छ । त्यसैगरी श्री एयरले १२, तारा, समिट र सिता एयरले ४/४ तथा सिम्रिक र सौर्य एयरले २/२, उडानको अनुमति पाएका छन् ।
सिम्रिकको काठमाडौं–पोखरा दैनिक २ उडान रहेको छ । तारा एयरको काठमाडौंबाट लुक्ला दैनिक ३ उडान, फाप्लु हप्तामा ३ उडान गर्नेछ ।
यसैगरी सिता एयरले काठमाडौंबाट दैनिक ताप्लेजुङ २ उडान र लुक्ला दैनिक १ उडान गर्नेछ ।
समिट एयरले काठमाडौं–लुक्ला दैनिक २ उडान र जोमसोम हप्तामा ५ वटा उडान गर्नेछ ।
प्राधिकरणका अनुसार यो तालिका अक्टोबर महिनाभर लागु हुनेछ । परिस्थितिको अवस्था हेरि उडान थपघटको निर्णय हुन सक्ने प्राधिकरणले जनाएको छ । इमेजखबरमा समाचार छ ।