अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी र सहायक प्रजिअलाई काेराेना संक्रमण पुष्टि

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाका प्रमुख जिल्ला अधिकारी विष्णु पाैडेल र सहायक प्रमुख जिल्ला अधिकारी विक्रम थापा सहित ६ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।
प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी, सुरक्षा गार्ड साथै दुई जना स्वास्थ्यकर्मी र अन्य गरी ६ जनामा काेराेना संक्रमण पुष्टि भएकाे हो ।  यो सँगै अर्घाखाँची जिल्लामा कोरोना संक्रमितको संख्या ४०७ पुगेको छ । 
सन्धिखर्क नगरपालिकाको भुजुंगे र शीतगंगा नगरपालिका–१२ को कोठिया मैदानका पहिरोपीडितलाई राहत वितरण गरेर फर्केपछि ज्वरो र रुघाखोकी लागेका प्रजिअ पौडेलको बिहीबार पीसीआर रिपोर्ट पोजिटिभ आएको हो । स्वाब परीक्षणका लागि कोभिड–१९ परीक्षण प्रयोगशाला गुल्मी पठाइएको थियो । सहायक प्रजिअ थापालाई भने अहिलेसम्म लक्षण देखिएको छैन ।
दुई दिनसम्म पहिरोस्थल भुजुंगे र कोठिया मैदानमा स्थलगत अनुगमन गरेकोमा राहत वितरण गरेको दिनबाटै ज्वरो, रुघाखोकी र शरीर दुख्ने समस्या देखिएपछि पीसीआर जाँच गराउँदा कोरोना पोजिटिभ देखिएको पौडेलले बताए । 
प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी होम क्वारेन्टिनमा बसेका छन् । 
उता शुक्रबार जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले एक सुचना जारी गर्दै पहिराे प्रभावित क्षेत्रमा जाँदा काेराेना संक्रमित भएकाे उल्लेख गरिएको छ । 

अन्य समाचारहरु