अर्घाखाँचीमा जिल्ला प्रशासन कार्यालय एक साताका लागि बन्द

बिष्णु कुमार आले 
सन्धिखर्क, अर्घाखाँची असोज १८, २०७७ ।  प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेलसहित चार जना कर्मचारीमा कोरोना पुष्टि भएपछि संक्रमण फैलिन नदिन जिल्ला प्रशासन कार्यालयमा अत्यावश्यक बाहेकका सेवाहरू आज (आइतबार) देखि एक साताका लागि बन्द गरिएको छ। 
कार्यालयबाट प्रवाह हुने अत्यावश्यक बाहेकका नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र लगायतका सेवाहरू एक साताका लागि बन्द गरिएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जानकारी दिएको छ। 
शान्ति सुरक्षा, मुद्दा, राहत, उद्दार लगायतका अत्यावश्यक सेवाहरू भने नियमित रहनेछन्। सन्धिखर्क र शीतगंगामा पहिरोबाट विस्थापित भएका पीडितहरुलाई राहत वितरण तथा अवलोकन गर्नुअघि नै कोरोना संक्रमण भएकव शंका लागेपछि प्रजिअसहितका कर्मचारीको स्वाब संकलन गरी परीक्षणका लागि गुल्मीमा पठाइएको थियो। 
पहिरोग्रस्त क्षेत्रमा राहत तथा भेटघाट गरेर फर्किने बित्तिकै पठाइएको स्वाबको पीसीआर रिपोर्टमा प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारीसहित चार जना कर्मचारीमा कोरोना पोजेटिभ देखिएको हो। 
प्रजिअ र सहायक प्रजिअसहित संक्रमित कर्मचारीहरूलाई अहिले आइसोलेसनमा उपचार थालिएको छ।

अन्य समाचारहरु