कमला पोख्रेल
सन्धिखर्क, अर्घाखाँची १९ आश्विन । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्वर १० अर्घाको धरमपानीमा वार्ड कार्यालयमै गएर योजना सम्झौता गरिएको छ । वार्ड कार्यालयमा आज एकै दिन २१ वटा योजनाहरुको सम्झौता गरिएको वडाअध्यक्ष लक्ष्मीनारायण चुँदालीले बताउनु भएको छ ।
योजना सम्झौताको उद्घाटन गर्दै नगर प्रमुख कमल प्रसाद भुसालले उपभोक्ता समितिलाई नगरपालिकामा योजना सम्झौता गर्न जान झन्झट र अफ्ठेरो हुने भएपछि वडा कार्यलयमै पुगेर योजना सम्झौता गरिएकोे बताउनु भयो । उहाँले जनतालाई छिटो, छरितो तवरबाट गुणस्तरीय सेवा प्रबाह गर्न नगरपालिका लागि परेको बताउनु भएको छ ।
सन्धिखर्क नगरपालिकाका नगर उपप्रमुख ठाकुर कुमार बिकले योजना सम्झौता गर्न नगरपालिकामा जाने झन्झटको अन्त्य गर्न वडा कार्यलयमै योजना सम्झौता गर्ने कार्यक्रम सञ्चालन गरिएको छ ।
वडा अध्यक्ष लक्ष्मीनारायण चुँदालीको अध्यक्षता र वडा सचिव धर्मराज भुसालको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा सन्धिखर्क नगरपालिकाका इन्जिनीयर प्रमोद केसी, प्रशासन फाट प्रमुख डालबहादुर केसी, योजना शाखाका नारायण पोख्रेल, वडा सदस्य ऋषिकेस भुसाल, भेसराज क्षेत्री, शान्ता नेपाली, नेपाली कांग्रेसका वडा सभापति नारायण चुँदाली, मनकामना महिला बचत तथा ऋण सहकारी सस्थाकी अध्यक्ष मिश्रा आचार्य, पत्रकार प्रेमनारायण आचार्य, १० नम्वर वडा कार्यलयका सब इन्जिनीयर साबित्रा ठहराई, सहायक कम्प्युटर अपरेटर कृष्णा भुसाल, पशु प्राविधिक प्रदिप आचार्य लगायतको उपस्थिति रहेको थियो ।