अर्घाखाँची – दाङको भालुवाङमा लुम्बिनी प्रदेशको राजधानी (फोटो फिचर)

ॠषि भुसाल 
भालुवाङ (अर्घाखाँचीडट्कम) । प्रदेश नम्बर ५ को स्थायी राजधानी दाङ तथा अर्घाखाँचीको भालुवाङमा रहने भएको छ।
आज प्रदेशसभाले स्थायी राजधानी दाङको देउखुरी राख्ने निर्णयमा अर्घाखाँचीबाट प्रदेश सभा सदस्य चेतनारायण आचार्य, रामजी प्रसाद घिमिरे र जाल्पा भुसालले भालुवाङको पक्षमा मतदान गरेका थिए । यस्तै सांसद निर्मला क्षेत्री बिपक्षमा, सांसद कल्पना पाण्डेले बहिस्कार गरेका थिए । 
नाम लुम्बिनी
प्रदेश नम्बर ५ को नाम लुम्बिनी राख्ने निर्णय भएको छ।
प्रदेशसभाको मंगलबार बसेको बैठकले दुईतिहाइ बढी मतले प्रदेशको नाम लुम्बिनी राख्ने निर्णय गरेको हो। प्रदेशको नामाकरण गर्न भएको मतदानमा ८७ मध्ये ८३ जनाले भोट हालेका छन्।
लुम्बिनी नाम राख्ने पक्षमा  ७९ मत खसेको छ भने विपक्षमा जम्मा ४ मत खसेको सभामुख पूर्ण घर्तीले जानकारी दिए। यसअघि राजधानी दाङ राख्न पक्षमा मत नदिएका कांग्रेसका १३ सांसदले पनि नाम लुम्बिनी राख्ने पक्षमा मत हालेका छन्।   
आजै प्रदेशसभाले स्थायी राजधानी दाङको देउखुरी राख्ने निर्णय गरेको छ। दाङ राजधानी राख्ने विपक्षमा कांग्रेसका १३ जनाले मत दिएका थिए।
राजधानी राख्ने पक्षमा नेकपाका ६१ र कांग्रेसका ५ सहित ६९ मत परेको थियो । 
दाङको राप्ती गाउँपालिकाको भालुवाङ बजार  भौगोलिक दृष्टिकोणले बुटवलदेखि १०० किलोमिटर पश्चिम भागमा पर्छ। यसरी हेर्दा राजधानी १०० किलोमिटर पश्चिममा सरेको छ। प्यूठान, अर्घाखाँची र कपिलवस्तु  जिल्ला भने प्रदेशको स्थायी मुकामकै सीमामा पर्छन। 
दाङ जिल्लाको पूर्वीभागमा रहेको  राप्ती गाउँपालिका वडा नं. १ भालुवाङ बजार तुलसीपुरबाट ८९ किलोमिटर पूर्व, घोराहीदेखि ६६ किलोमिटर पूर्वमा अवस्थित छ। गाउँपालिकाको केन्द्र भने भालुवाङबजार भन्दा ७ किलोमिटर पश्चिम मसुरियामा अवस्थित छ। 
त्यस्तै बाँकेसँग सीमाना जोडिएको अमेलिया बजारबाट ६० किलोमिटर पूर्व र लमही बजारवाट २५ किलोमिटर पूर्वी भागमा भालुवाङ बजार रहेको छ। भालुवाङ बजार नेपाल-भारत सीमा नाका कोइलावास ३४ किलोमिटर दक्षिणमा पर्छ।
कोइलावास नाका  गढवा गाउँपालका वडा नं. ८ मा पर्छ। 
अहिले कोइलावास सडक खण्ड कालोपत्रे भइसकेको छ। पूर्व-पश्चिम राजमार्ग निर्माण भएपछि २०२४/०२५ सालदेखि कोइलावास नाका आझेलमा परेको हो। यही कोइलाबास नाकामार्फत दाङसहित रोल्पा, प्यूठान, अर्घाखाँची, सल्यान, रुकुम, जाजरकोटसम्मका सर्वसाधारणले विगतमा नुनदेखि सुनको व्यापार गर्ने गरेको पुराना पुस्ता बताउँछन्। 
दाङको देउखुरी राजधानी भएपछि कोइलाबास नाकाले पुनर्जीवन पाउने आशा गरिएको छ।  

अन्य समाचारहरु