छत्रदेवमा वर्षाले बिगारेका अधिकांस सडकको मर्मतकार्य शुरु

डट्कम संवावदाता
छत्रदेव, अर्घाखाँची असोज २८  । अर्घाखाँचीको छत्रदेवमा वर्षाले बिगारेका अधिकांस सडकको मर्मतकार्य शुरु भएको छ । यसपाली औसतभन्दा बढी भएको वर्षाले प्राय सडकका धेरै भागमा क्षति पुर्याएको छ । वर्षा सकिएलगत्तै दशैँको सम्मुखमा सडकहरु सोहोर्ने गरिएकोमा यसवर्ष मनसुन र दशैँ दुबै पछि धकेलिएकोले काम पनि ढिलो गरी शुरु भएको हो ।
गाउँपालिकाले यस कामका निम्ति प्रत्येक वडाका सडकहरुको कुल फैलावट, क्षतिको अवस्था लगायत मापदण्डका आधारमा सिलिङ् निर्धारण गरीदिएको छ । गाउँपालिकाका सूचना अधिकारी डिल्लीराज अर्यालले भन्नुभयो, “वडाभित्रको कुल सडकको लम्बाई, त्यसमा भएको क्षतिको अवस्था, त्यहाँको भूगोल लगायतका विषयमा तोकिएको सिलिङ्भित्र रही वडाहरुबाट विनियोजन र टेण्डरसमेत भई काम भइरहेको अवस्था छ ।”
आठओटा वडाहरुमध्ये ७ नं. वडा कार्यालयले यस प्रयोजनका लागि अधिकतम १३ लाख रुपैयाँ विनियोजन गरेको छ, भने अन्य वडाहरुले औसत ९ लाख रुपैयाँ छुट्याएका छन् ।
६ नं. वडा कार्यालय ठूलापोखराले भने आधाभन्दा बढी काम सकिसकेको जनाएको छ । वडाअध्यक्ष कमल पौडेलले भन्नुभयो, “यसका लागि कुल ९ लाख एक हजार रुपैयाँ विनियोजन भई ठेक्कापश्चात् आधाभन्दा बढी काम सम्पन्न भईसकेको छ । तीव्र रुपमा काम भईरहेको छ, छिट्टै सक्ने तयारीमा छौँ । “
यता, ८ नं. वडा कार्यालयले भने भोलिदेखि मात्र काम शुरु गर्ने भएको छ । टेण्डर प्रक्रिया सकिएर समिती गठन भइसकेको र प्राविधिक कारणले १ / २ दिन ढिला भएपनि भोलि बिहीबारदेखि काम शुरु हुने वडाअध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । अध्यक्ष श्रेष्ठका अनुसार ८ नं.वडाले पनि बाटो मर्मतका लागि ९ लाख रुपैयाँ विनियोजन गरेको छ ।
सर्वसाधारणले भने वर्षाद् सकिएर दशैँ मुखैमा आउँदा समेत ढिलो गरी काम शुरु भएको र खाल्डाखुल्डीकै बीच यात्रा गर्न परेकोमा गुनासो व्यक्त गरेका छन् ।

अन्य समाचारहरु