भारतीय माओवादीले गरेको आक्रमणमा ७० भन्दा बढी सुरक्षाकर्मीको मृत्यु

काठमाडौँ, चैत २४  – भारतको छत्तिसगढ जिल्लाको दंतेवाडा जिल्लाका तीन स्थानमा आज बिहान माओवादीले गरेको आक्रमणमा ७० भन्दा बढी सुरक्षाकर्मीको मृत्यु भएको भारतीय टेलिभिजन च्यानल सीएनएन- आइबीएनले जनाएको छ। नक्सलवादी भनिने माओवादीहरुविरुद्ध सरकारले थालेको अभियानपछि भएको यो सबैभन्दा ठूलो आक्रमण हो। आज बिहानै भएको आक्रमणमा मारिनेको संख्या ७३ र घाइते १२ भएको छत्तीसगढ प्रहरीका प्रवक्ताले बताए। स्रोतहरुलाई उद्‍धृत गर्दै आइबीएनले मारिनेको संख्या ८० जनासम्म पुग्न सक्ने बताएको छ।

भारतको केन्द्रीय अर्धसैनिक बल (सीआरपीएफ)को गस्ती टोलीमाथि माओवादीले श्रृंखलाबद्ध आक्रमण गरेका थिए ।

केन्द्रीय गृहमन्त्री पी.चिदम्वरमले  घटनाप्रति दुःख ब्यक्त गरेका छन्।  ६ घण्टाभन्दा बढी समयसम्म भएको भनिएको भिडन्तमा माओवादीतर्फ के कति हताहति भयो भन्ने बारे जानकारी आइसकेको छैन।

बचाउन गएकाहरुमाथि नै आक्रमण

एजेन्सीहरुका अनुसार बिहान पाँच बजे सीआरपीएफ़को दस्ता चिंतलनार थानेको तालमेतला इलाक़ामा गस्तीका लागि निस्केको थियो। करिब ६ बजे उनीहरुमाथि पहिलो आक्रमण भएको थियो। यो आक्रमणमा एक सब इन्सपेक्टरसहित एक जवानको मृत्यु भएको थियो। चार जना यसमा घाइते भएका थिए। यो आक्रमणको खबर पाउने बित्तिकै बख्तरबन्द गाडीसहित एउटा उद्धार दल त्यसतर्फ खटाइएको थियो।

माओवादीहरुले त्यसमाथि नै आक्रमण गरे। त्यसको उद्धारका लागि गएको अर्को टोलीमाथि पनि ठाउँठाउँमा लुकेर बसेका माओवादीहरुले आक्रमण गरेका थिए।