म्याद सकिएका खाद्यवस्तु बेच्नेलाई एक वर्ष कैदसहित तीन लाख जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले उपभोग्य मिति समाप्त भएका खाद्य वस्तुमा पुनः नयाँ मिति राख्दै गर्दा पक्राउ परेकालाई एक वर्ष कैदसहित जरिवाना गरेको छ ।
गत असोज १५ गते कलंकी क्षेत्रमा गरिएको बजार अनुगमनका क्रममा मिति सकिएका उपभोग्य वस्तु बजारबाट सङ्कलन गरी नयाँ मिति राखेर पुनः बजारमा पठाउँदै गर्दा रङ्गेहात पक्राउ परेकालाई कारवाही गरिएको विभागले जनाएको छ ।
पुनःम्याद राख्दै गर्दा पक्राउ परेका दुई कम्पनीका दुई जना सञ्चालकलाई एक वर्ष कैद तथा प्रतिव्यक्ति तीन-तीन लाख जरिवाना गरिएको विभागका सूचना अधिकारी रवीन्द्र आचार्यले जानकारी दिनुभयो ।
आयान डिस्ट्रिब्युटरका सञ्चालक भारत राजस्थानका रोनक बोथ्रा र विष्णुलक्ष्मी डिस्ट्रिब्युटरका सञ्चालक धादिङ गल्छीका शङ्कर बयलकोटीलाई कारवाही गरिएको हो ।
यसैगरी बजार अनुगमनका क्रममा विभागको टोलीले काठमाडौँको महाराजगञ्ज र मालिगाउँमा ठूलो परिमाणमा म्याद सकिएका खाद्य वस्तु भेटाएको थियो ।
एकै स्थानमा ठूलो परिमाणमा खाद्य वस्तु भेटिएपछि रिलेवलिङको शङ्का गरेर उक्त स्थानमा शिलबन्दी गरी अनुसन्धान गर्दा रिलेबलिङ पुष्टि नभएपछि जरिवाना गरिएको विभागले जनाएको छ । इमेजच्यानलमा समाचार छ ।