कोरोना भाइरस अर्थात् कोभिड १९ विरुद्धको खोपमा नयाँ सफलता हात परेको उत्पादनकर्ताहरुले दाबी गरेका छन् । एक प्रारम्भिक विश्लेषणका अनुसार फाइजर र बायोएनटेकले उत्पादन गरेको खोपले परीक्षणमा ९० प्रतिशत सम्मको प्रभावकारिता देखाएको हो।
यो उत्पादक कम्पनीले बनाएको खोप ६ देशका ४३ हजार ५०० जनामा परीक्षण गरिएको थियो र कुनै पनि प्रकारका गम्भीर साइड इफेक्ट देखिएको छैन । कम्पनीले यो महिनाको अन्तिमसम्म आकस्मिक स्वीकृतिका लागि निवेदन दिने भएको छ ।
फाइजरका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत डा अल्बर्ट बोलाले विज्ञान र मानवताका निम्तिी यो महत्त्वपूर्ण दिन भएको बताए । उनले भने,‘ कोभिड १९ को फेज ३ को यो खोप ट्रायलको नतिजाले कोभिड विरुद्ध रोेक्न सक्छ भन्ने प्रारम्भिक प्रमाण देखाएको छ । ’
हालसम्म दर्जनौं कोेभिड विरुद्धका खोपहरु परीक्षणको अन्तिम चरणमा छन् तर यसले भने राम्रो सम्भावना र नतिजा देखाएको छ । यो खोपमा प्रयोगात्मक विधि प्रयोग गरिएको छ जसमा मानिसको रोग प्रतिरोधात्मक क्षमतालाई तयार पार्न भाइरसको जेनेटिक कोडलाई इन्जेक्सनमार्फत् प्रवेश गराइन्छ ।
खुसीको खबर:- राष्ट्रपति डोनाल्ड ट्रम्प
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार खोपको प्रभावकारितासम्बन्धी समाचारलाई ‘खुसीको खबर’ भन्नुभएको छ ।
‘खोप छिट्टै आउँदैछ । यसले स्टक बजार ह्वात्तै बढ्नेछ । खोपको प्रभावकारिता ९० प्रतिशतभन्दा बढी पाइएको छ । यो विशेष समाचार हुनसक्छ’–ट्रम्पले खोपको प्रभावकारितासम्बन्धी समाचार सार्वजनिक भएपछि गरेको ट्वीटर सन्देशमा उल्लेख छ ।
ट्रम्प प्रशासनले कोभिड–१९ महामारी नियन्त्रणका लागि आवश्यक कदम नचालेको आरोप अमेरिकीहरूले नै लगाउने गरेका छन् ।
ट्रम्पको राष्ट्रपतीय निर्वाचनमा आएको जनमतलाई पनि यसै विषयसँग जोडेर हेरिएको छ ।
अमेरिकामा अहिलेपनि कोरोनाभाइरस संक्रमण दर उच्च रहेको र यो नियन्त्रणमा आउने कुनै संकेत नदेखिएको भनी राष्ट्रपति ट्रम्पको आलोचनासमेत भएको छ । एजेन्सी