किर्गिजस्तानमा सरकारविरोधी प्रदर्शनमा सयभन्दा बढीको मृत्यु

 मध्य एसियाली देश किर्गिजस्तानमा सरकारविरोधी प्रदर्शन गरिरहेकाहरुमाथि सुरक्षाकर्मीहरुले गोली चलाउँदा सयभन्दा बढीको मृत्यु भएको विपक्षी नेताले बताएका छन्। एपीका अनुसार अहिले त्यहाँ राष्ट्रपतिले संकटकाल घोषणा गरेका छन्। प्रदर्शनकारीहरुले कयौँ सरकारी भवन र टेलिभिजन स्टेसनलाई नियन्त्रणमा लिएपछि सुरक्षाकर्मीले गोली चलाएका थिए।

बीबीसीका अनुसार अधिकारीहरुले भने राजधानी बिस्केकमा कम्तिमा ४० जनाको मृत्युको मात्रै पुष्टि गरेका छन्। घटनामा चार सयभन्दा बढी घाइते भएका छन्।

प्रदर्शनकारीहरुले बढ्दो ऊर्जा मूल्य र भ्रष्टाचार नियन्त्रण गर्न नसकेको भन्दै राष्ट्रपति कुर्मानबेक बाकियभले राजीनामा दिनुपर्ने माग गरिरहेका थिए। 

सरकारले गिरफ्तार गरेर राखेको भए पनि बुधबार प्रदर्शनकारीहरुले रिहा गराएका विपक्षी नेता टेमिर सारियभले आफू सरकारसित वार्ता गरिरहेको बताएका छन्। तर राष्ट्रपतिको कार्यालयले भने यसबारे केही बताएको छैन। राष्ट्रपति कहाँ छन् भन्ने बारेमा पनि कसैलाई केही बताइएको छैन।


ब्याङ्ककमा पनि संकटकाल
उता, थाइल्यान्डमा पनि प्रदर्शनकारीहरु संसदभित्र प्रवेश गरेपछि प्रधानमन्त्रीले राजधानी ब्याङ्ककमा संकटकाल घोषणा गरेका छन्। १२ मार्चदेखि सरकार विरोधी प्रदर्शन गरिरहेका रातो टिसर्टधारी प्रदर्शनकारीहरु आज अचानक संसद भवनभित्र प्रवेश गरेपछि सांसदहरु भागाभाग भएका थिए।

प्रदर्शनकारीहरु थाई प्रधानमन्त्रीले राजीनामा दिई नयाँ चुनाव गराउनु पर्ने माग राख्छन्।