प्रधानमन्त्री ओलीद्धारा कुनै मूल्यमा पार्टी फुट्न नदिने प्रतिबद्धता

काठमाडौं । सत्तारुढ नेकपाको सचिवालय बैठक नजिकिँदै गर्दा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले परामर्श तीव्र बनाउनुभएको छ ।
आइतबार दिनभरजसो परामर्शमा रहेका प्रधानमन्त्री ओलीले हिजो बेलुका पनि आफ्नै निवासमा पूर्वमाओवादी केन्द्रका नेताहरूसहितलाई राखेर छलफल गर्नुभयो ।
मध्यरातिसम्म भएको छलफलमा पूर्वमाओवादी केन्द्रका नेताहरूले प्रधानमन्त्रीलाई लचिलो हुन सुझाव दिएका छन् ।
प्रधानमन्त्री र पार्टीको पहिलो वरीयताको अध्यक्ष भएकाले लचिलो हुने दायित्व ओलीकै भएको उनीहरूले सुझाएका थिए ।
छलफलमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, पार्टी महासचिव विष्णु पौडेल, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङ, सुवास नेम्वाङसहितका नेताहरू सहभागी थिए ।
पूर्वमाओवादी केन्द्र समूहका स्थायी कमिटी सदस्यद्वय देवेन्द्र पौडेल र टोपबहादुर रायमाझी सहभागी थिए । हरिबोल गजुरेल भने उपस्थित हुनुभएन ।
देवेन्द्र पौडेलले आफूले दुवै अध्यक्षलाई भेटेर पार्टी फुटबाट जोगाउन र एकताको रक्षा गर्न आग्रह गरेको जानकारी दिनुभयो ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले विषको घडा पिएर भए पनि पार्टी एकता बचाउन आग्रह गरेको जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रधानमन्त्री ओलीले पनि कुनै मूल्यमा पार्टी फुट्न नदिने आश्वासन नेताहरुलाई दिनुभएको छ ।
नेकपाको सचिवालय बैठक भोलिका लागि तय भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठकमा पेश गरेको दस्तावेज एकलरूपमा आएको भन्दै फिर्ता नलिएसम्म बैठकको वातावरण नबन्ने ओली पक्षको अडान छ ।
ओली पक्षका नेताहरूले प्रचण्डलाई दस्तावेज फिर्ता लिन आग्रह गरेका छन् ।
अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले दस्तावेज सामूहिक निष्कर्ष भएकाले फिर्ता नहुने यसअघि नै बताइसकेका छन् । इमेज च्यानल समाचार छ ।