लक्ष्मण घिमिरे / अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामै स्तरिय स्वास्थ्य सेवा प्रदान गर्ने गरी काम भईरहेको प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद पौडेलले बताएका छन् ।
अब केही समयमै स्तरिय भेन्टिलेटर र आईसियु सहितको सेवा प्रदान गर्नेगरी काम अँगाडी बढाएको उनले बताए । जिल्लावासीलाई स्तरिय स्वास्थ्य सेवा प्रदान गर्न सबै पक्ष गम्भिर रहेको उनको भनाई छ । सन्धिखर्कका एक जना ३२ वर्षिय र ३८ वर्षिय पुरुषको ज्यान गएपछी सामाजिक संजालमा व्यापक प्रश्न उठाईएका बेला प्रजिअ पौडेलले आवश्यक तयारी गरिरहेको बताएका हुन् ।
कोरोना संक्रमणको अवस्था सामान्य रहेकाले आत्तिनु पर्ने अवस्था नरहेको तर सावधानी अपनाउनु पर्ने प्रजिअ पौडेलले बताए । अनिवार्य मास्कको प्रयोग गर्न र सुरक्षाका साधन अपनाउन उनको सुझाव छ ।
जिल्लाका पत्रकारहरुसंगको अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रजिअ पौडेलले सुसाशनको विषयमा आफु गम्भिर रहेको बताए । प्रत्येक कार्यालयमा सेवाग्राहीमैत्री सेवा प्रदान गर्ने सवालमा आफुले कडा निर्देशन दिएको उनको भनाई छ । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनाल, पत्रकार महासंघका उपाध्यक्ष गणेश खनाल, पत्रकार महासंघ प्रदेश सदस्य शोभाखर खनाल, प्रेस युनियनका जिल्ला अध्यक्ष बिरेन्द्र केसी, प्रगतिशिल पत्रकार संघका जिल्ला अध्यक्ष जितेन्द्र खत्री लगायत पत्रकारहरुको उपस्थिती रहेको थियो ।
अर्घाखाँचीमा स्तरिय भेन्टिलेटर र आईसियु नहुँदा कोरोना संक्रमण लागेका बिरामी बाहिरी जिल्ला पठाउन पर्ने बाध्यता छ । बिरामीले उपचार नपाउने अवस्था आएको भन्दै स्थानियहरुले विरोध गरिरहेका छन् ।