काठमाडौँमा राष्ट्रियता, जनतन्त्र र जनजीविकाको पक्षमा मसाल लगायत २२ दलको प्रदर्शन

काठमाडौँ । राष्ट्रियता, जनतन्त्र र जनजीविकाको विषयमा नेकपा (मसाल) लगायतका २२ राजनीतिक दल तथा सङ्घसंस्थाहरूले २०७७ मङ्सिर ७ गते राजधानीमा विरोध प्रदर्शन गरेका छन् ।
अमेरिकी संस्था एमसिसी र नेपालका विभिन्न सरकारद्वारा विभिन्न समयमा गरिएका राष्ट्रघाती सम्झौताको खारेजी, भारतले अतिक्रमण र कब्जा गर्दै आएको लिम्पिधुरा–कालापानी–लिपुलेक, सुस्ता, महेशपुर आदि भूभागमाथि नेपालको स्वामित्व कायम गर्ने, कोभिड–१९ को रोकथाम, नियन्त्रण र निःशुल्क उपचार, बेरोजगार र विपन्नवर्गलाई खानालगायत न्यूनतम सुविधा, रोजगारीको व्यवस्था, निःशुल्क शिक्षा र स्वास्थ्यको व्यवस्था, उखु किसानको बक्यौता रकम तुरुन्त दिलाउने आदि विषयमा उनीहरूले प्रदर्शन गरेका हुन् ।
कार्यक्रममा प्रदर्शनकारीहरूले भारतद्वारा अतिक्रमित भूमि फिर्ता गर !, अमेरिकी साम्राज्यवाद मुर्दावाद !, भारतीय साम्राज्यवाद मुर्दावाद !, नेपालको सम्पूर्ण अतिक्रमित भूमि फिर्ता गर !, शिक्षा र स्वास्थ्य पूर्ण रूपमा राष्ट्रियकरण गरी निःशुल्क र सर्वसुलभ गर !, कोभिड–१९ का बिरामीहरूको परीक्षण र उपचार निःशुल्क गर !, बेरोजगारलाई रोजगारको व्यवस्था गर !, बेरोजगारलाई रोजगार दे, नभए बेरोजगार भत्ता दे !, उखुकिसानको बक्यौता रकम तुरन्त उपलब्ध गराऊ !, राष्ट्रघाती एमसिसी परियोजना खारेज गर !, लिम्पियाधुरा–लिपलेक–कालापानी हाम्रै हो !, २२ दलीय मोर्चा जिन्दावाद !, सन् १९५० लगायतका सम्पूर्ण असमान सन्धिसम्झौता खारेज गर !, गरिब तथा विपन्नवर्गलाई खानालगायत न्यूनतम सुविधाको ग्यारेन्टी गर, राजनीतिक दलमाथिको प्रतिबन्ध खारेज गर, राष्ट्रिय स्वाधीनताको रक्षा गरौँजस्ता नारा लगाइएका थिए ।
कार्यक्रमको आयोजना नेकपा (मसाल), नेकपा (क्रान्तिकारी–माओवादी), नेकपा (माले), राष्ट्रिय जनमोर्चा, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल कम्युनिस्ट पार्टी, नेकपा (माओवादी–केन्द्र), राष्ट्रिय जागरण मञ्च, जनसमाजवादी पार्टी, नेकपा (संयुक्त), राष्ट्रिय जागरण परिषद्, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेकपा (बोल्सेभिक), राष्ट्रवादी केन्द्र नेपाल, एमसिसी खारेज अभियान, पुष्पलाल अध्ययन समाज, सर्वहारा कम्युनिस्ट पार्टी (माओवादी), मार्क्सवादी एकता अभियान, नेकपा (मार्क्सवादी), नेकपा मार्क्सवादी (पुष्पलाल), नेकपा (माओवादी) र समाजवादी राष्ट्रिय मञ्च नेपालले गरेका थिए ।
आजै देशका विभिन्न भागमा पनि २२ दल तथा सङ्घसंस्थाको आयोजना विरोध प्रदर्शन गरिएका छन् । युगदर्शनमा समाचार छ ।