अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कबाट बेपत्ता गुल्मीका एक युवा फेला परेका छन् ।
समाजसेवी सहयोगी बिसीका अनुसार मंगलबार बिहान १०:०० बजेदेखि बेपत्ता भएका गुल्मी जिल्लाको मदाने गाउँपालिका वार्ड नम्बर २ लेखका ३२ वर्षिय सुर्य बहादुर खड्का सन्धिखर्कको कुँडुँलेबाट फेला परेका हुन् ।
खड्कालाई कुँडुँलेका पोम बहादुर नेपाली र पार्बता नेपालीले फेला पारेर घरमा खाना खुवाएर राखेका थिए । फेला परेका खड्कालाई आफन्तको जिम्मा लगाईदिएको छ ।
मंगलबार आफन्त श्याम खनालले दिएको जानकारी अनुसार खड्का बिहान फुदबाङ र आँटिकापाटा बिचमा पर्ने अउलाखोला क्षेत्रबाट हराएका थिए ।
मानसिक सन्तुलन कमजोर रहेका खड्काले गुल्मीको पुर्कोट जाने जीपमा बुटवलबाट आउँदै गर्दा अउलाखोला पिसाब गर्न जान्छु भनी ओर्लिएका थिए ।
ओर्लिएको लामो समयसम्म नआउँदा उक्त क्षेत्रमा खोजी गर्दा उनलाई फेला पर्न नसकिएको परिबार आफन्तहरुले बताए थिए ।
फोटो: सहयोगी बिसीबाट