भारतीय विदेश सचिव श्रींगला दुई दिने भ्रमणका लागि काठमाडौंमा, नेपालीमै बोले
मंसिर ११ गते, २०७७ मा प्रकाशित
भारतीय विदेश सचिव हर्षवर्द्धन श्रींगला दुई दिने भ्रमणका लागि बिहीबार बिहान काठमाडौं आइपुगेका छन्।
चार्टर्ड जहाजमा बिहान ११ बजेतिर त्रिभुवन विमानस्थलमा उत्रिएका श्रींगलालाई परराष्ट्र सचिव भरतराज पौडेलले स्वागत गरेका थिए।
विमानस्थलमा पत्रकारहरूसँग प्रतिक्रिया दिँदै श्रींगलाले आफू पहिला नै नेपाल आउन चाहेको भए पनि कोरोनाभाइरसका कारण सम्भव नभएको र अहिले नेपाल आउन पाएकोमा निकै खुसी भएको बताए।
विमानस्थलमा श्रींगलाले नेपालीमै बोलेका थिए। उनले पहिला पनि आफू काठमाडौं आएको र विदेश सचिवका रूपमा भने पहिलो पटक नेपाल आएको बताए।
उनले नेपाल-भारत सम्बन्ध निकै बलियो भएको कुरामा पनि जोड दिए।
‘हाम्रो सम्बन्ध निकै मजबुद् छ। हाम्रा प्रयासले हाम्रो सम्बन्धलाई अझ कसरी अगाडि लैजान्छौं भन्ने देखाउनेछन्। मलाई देखाउनुभएको न्यानो सत्कारका लागि नेपाल र सरकार र परराष्ट्र सचिवलाई धन्यवाद,’ उनले भने,‘हामी केही महत्वपूर्ण बैठकमा बस्दैछौं। हेरौं तिनले कस्तो काम गर्छन्।’ सेतोपाटीमा समाचार छ ।