नेपालमा बलात्कारपछि हत्याका घटना बढ्दै

काठमाडौं, मंसिर १८ । कञ्चनपुरको भीमदत्त नगरपालिकाकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको झन्डै साढे दुई वर्ष बितिसक्दा पनि सरकारले दोषी पत्ता लगाउन सकेको छैन ।
यतिका समय बित्दा पनि रहस्यमा नै रुमल्लिरहेको निर्मला पन्त हत्याकान्डले अपराधपछि पनि दोषी पत्ता लागी सजाय नपाउने छुट्टै नजिर स्थापित त भएको छ नै, पछिल्लो समय बलात्कारपछि हत्या गर्नेक्रम पनि बढ्दो छ ।
यस्ता घटनाहरुले समाज कतातिर जाँदै छ भन्ने प्रश्न उठाएको छ ।
पछिल्लो तीन आर्थिक वर्षमा चार हजार ६८७ जना महिला र बालबालिका बलात्कृत भएको तथ्यांक छ । यसमाथि बलात्कारपछि हत्या गर्ने प्रवृति झन् डरलाग्दो रुपमा मौलाइरहेको छ ।
असोज १२ गते बझाङको मस्टा गाउँपालिकाकी १२ वर्षीया सम्झाना कामीको बलात्कारपछि हत्या गरियो ।
यस्तै, हालैमात्र छ वर्षीया बालिका गुलाब साह खातुनको बलात्कारपछि हत्या गरिएको घटना ताजै छ ।
सरकारले २०७५ साउनमा बलात्कारपछि हत्या गरिएकी कञ्चनपुर, भीमदत्त नगरपालिकाकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्याकान्डका दोषीलाई अझैपनि कानुनी दायरामा ल्याउन सकेको छैन । यी त प्रतीकात्मक घटनामात्र हुन् । यस्ता कयौं घटनाहरु सतहमा नै आएका छैनन् ।
आर्थिक वर्ष २०७५/७६ मा ११ जना महिला तथा बालबालिकाको बलात्कारपछि हत्या भएको छ ।
यस्तै, आर्थिक वर्ष २०७६/७७ मा दुई र ७७/७८ मा एकजनाको बलात्कारपछि हत्या गरिएको प्रहरीको तथ्यांक छ ।
एकपछि अर्को गरी निरन्तर एउटै प्रकृतिको घटना दोहोरिरहँदा पनि अपराधमा संलग्नलाई सरकारले कारबाही गर्न सकेको छैन । कतिपय अपराधमा संलग्नले त राजनीतिक प्रश्रयसमेत पाइरहेका छन् ।
मुलुक नै तताएको निर्मला हत्याकान्डमा विभिन्न छानबिन टोली गठन गरी अनुसन्धान गरेपनि सरकारले दोषी पत्ता लगाउन सकेको छैन ।
सरकारले यस्ता घटनाका दोषीलाई कानुनी दायरामा ल्याउन नसक्नुले अपराधीको मनोबल दिनानुदिन बढेको र यस्ता घटनाहरु दोहोरिरहेको यथार्थता हो ।
बलात्कार र बलात्कारपछि हत्या गर्ने जघन्य अपराध बढ्नुमा छोरा र छोरीमा विभेद गर्ने सामाजिक सोच, कुरीति र कुसंस्कार हाबी हुनु पनि महत्वपूर्ण कारण रहेको समाजशास्त्रीहरुको ठम्याइ छ ।
बलात्कार र बलात्कारपछि हत्या गर्ने व्यक्ति स्वस्थ मान्न नसकिने मनोविद्हरुको तर्क छ ।
अपराधमा सलग्न हुनेहरुमध्ये धेरै मनोरोगी हुने गरेको मनोविद्हरुको भनाइ छ । फितलो कानुनी व्यवस्था र अपराधीले राजनीतिक प्रश्रय पाउँदा यस्ता घटना बढ्ने विज्ञहरुको भनाइ छ ।
२१औं शताब्दीको समय र समाजमा मानव भन्न पनि लाज लाग्ने गरी नेपाली समाज कता जाँदैछ र हाम्रा छोरी–चेली कहिले सुरक्षित हुन्छन् भन्नेतर्फ गम्भीर भएर सोच्न आवश्यक छ ।
अपराधमा संलग्नलाई समयमा नै कानुनी दायरामा ल्याउन नसक्दा यस्ता घटनाहरु दोहोरिएका छन् । त्यसैले यस्ता घटना घट्न नदिन सरकार गम्भीर हुन आवश्यक देखिन्छ । इमेज च्यानलमा समाचार छ ।