अर्घाखाँचीमा आणविक अस्त्र उन्मुलनका लागि शान्तिपुर्ण प्रदर्शन


अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा आणविक अस्त्र उन्मुलनका लागि मानव अधिकार तथा शान्ति समाज अर्घाखाँची शाखाले  शान्तिपुर्ण प्रदर्शन गरेको छ ।
आणविक हतियार निषेध सन्धी शिघ्र अनुमोदन र आणविक अस्त्ररहित विश्वका लागि आग्रहसहित मानव अधिकार तथा शान्ति समाजले  विशेष अभियान प्रारम्भ गरेको छ ।
आणविक अस्त्रको विश्वव्यापी उन्मुलनका लागि मानव अधिकार तथा शान्ति समाज २५ वर्षदेखी अभियानरत छ ।  पछिल्लो चरणमा सन् २०१७ को जुलाई ७ मा राष्ट्रसंघ आयोजित सम्मेलनद्वारा आणविक हतियार निषेध सन्धी ग्रहण भई २०१७ सेप्टेम्बर २० मा हस्ताक्षरका लागि खुला भएको र २४ अक्टोबर २०२० मा ५० राष्ट्रले अनुमोदन गरेको र आगामी २०२१ को जनवरी २२ बाट यो सन्धी लागू हुन गइरहेको छ ।  
यो सन्धीले आणविक अस्त्रको विकास, परिक्षण, उत्पादन÷निर्माण, भण्डारण आदीलाई निषेध गरेको छ भने आणविक अस्त्रको प्रयोग वा प्रयोग गर्ने धम्कीलाई समेत निषेध गरेको छ । यो सन्धी आणविक अस्त्रको पूर्ण उन्मूलनतर्फ उन्मुख भएको हुँदा विश्व शान्तिका लागि कोशेढुंगो मानिएको छ ।
८४ राष्ट्रले हस्ताक्षर गरिसकेको यो महासन्धीमा नेपालले हस्ताक्षर गरेता पनि हालसम्म अनुमोदन गरेको छैन भने आणविक अस्त्र भएका राष्ट्रहरु अमेरिका, रुस, चीन, ब्रिटेन, फ्रान्स, भारत, पाकिस्तान, उत्तर कोरिया र इजरायलले अझैसम्म अनुमोदन गरेका छैनन् ।