भारतमा आगामी जनवरीदेखि कोरोना भाइरस (कोभिड–१९)विरुद्धको खोप लगाउने गरी तयारी सुरु भएको छ । स्वास्थ्य विभागका एक अधिकारीका अनुसार भारतको औषधि नियमन गर्ने संस्थाले आगामी केही साताभित्रै आपत्कालीन अवस्थामा प्रयोग गर्ने गरी केही भ्याक्सिनलाई अनुमति दिँदै छ ।
भारतमा दुईवटा कम्पनीका भ्याक्सिनले यसअघि नै आपत्कालीन अवस्थामा लगाउन मागसहित निवेदन दिइसकेका छन् । ती भ्याक्सिन अहिले पनि क्लिनिकल ट्रायलमै छन्र ।
नाम नबताउने सर्तमा ती अधिकारीले भनेका छन् आगामी अगस्ट महिनासम्ममा भारतमा ३० करोड मानिसलाई भ्याक्सिन लगाइसक्ने तयारी छ । शनिबार मात्रै भारतमा कोरोना संक्रमितको संख्या एक करोड नाघेको छ । यद्यपि, पछिल्लो दुई सातादेखि भारतमा कोरोना संक्रमणदर घटेको छ । दैनिक मृत्युदर पनि पाँच सयभन्दा कम रहेको जनाइएको छ ।
भारतको सिरम इन्स्टिच्युट र बेलायती औषधि कम्पनी एस्ट्राजेनेकाको सहयोगमा कोविसिल्ड र कोभ्याक्सिन भारत बायोटेक र आइसिएमआरले बनाइएका छन् । यसको प्रभावकारिता निकै नै राम्रो रहेको कम्पनीको दाबी छ । यी दुवै कम्पनीले आपत्कालीन आवस्थामा प्रयोग गर्ने माग यसअघि नै गरिसकेका छन् । एजेन्सी