– टिकाराम खनाल
बयासी बसन्त पार गरिसकेका
किसान बाजेले
बाँझो जोत्दै गर्दा-
उताबाट तीन थान
सेवानिर्बित्त अधबैंशे कर्मचारिहरु
आफ्नो पेन्सन बुझेर फर्कँदै थिए ।
सडकमा एउटा सरकारी भ्यान्
गुड्दै थियो, माइक फुक्दै:
“आगामी महिनाको ५ गते भित्र
आफ्नो सम्पुर्ण कर चुक्ता गर्नुहोला!”
भोलिपल्ट बिहानै-
चौपारिको बरको रूखमा
झुन्डिएको लासमुनि
सुसाइड नोटमा लेखिएको थियो,
“राज्यले मलाई माफ गरोस्!
मेरो झुपडी भित्रको
दश पाथी बिस्कुन बेचेर
मेरो लाश जलाईदिनु!!”
सायद, अब केहि बर्षमै
किसान बाजेको पेन्सन पाक्थ्यो कि ?