काठमाडौं, वैशाख १ – उत्तरपश्चिमी चीनको किङ्गघाई प्रान्तमा बुधबार बिहान गएको ७.१ रेक्टर स्केलको भूकम्पमा कम्तिमा ४ सयको मृत्यु भएको छ ।
चीनको युसु जिल्लामा पर्ने युसु गाउँमा केन्द्रविन्दु भएको उक्त भुकम्पले चार सयको मृत्यु भएको र १० हजार भन्दाबढी घाइते भएको चिनियाँ समाचार संस्था सिन्हृवाले जनाएको छ । मृतकको संख्यामा बृद्धि हुन सक्ने स्थानीय अधिकारीहरुले जनाएका छन् ।
स्थानीय समय अनुसार बिहान ७: ५० बजे उक्त भूकम्प गएको र केन्द्रबिन्द चाँही जमिनमुन्तिर ३३ किलोमिटरको गहिराईमा रहेको चीनको भुकम्पमापन सञ्जाल केन्द्रले जनाएको छ ।
भूकम्पछि ७ हजार भन्दा बढी राहत तथा उद्धारकर्मीहरु सैनिक, चिकित्सकहरु किङ्गघाई क्षेत्रमा खटिएका छन् । राष्ट्रपति हू जिन्ताओ र प्रधानमन्त्री बेन जियाबाओले बिपत्तिमा परेकाहरुको उद्धारमा खट्न चिनियाँ नागरिकहरुमा आव्हान गरेका छन् ।
भूकम्पपछि सडक पूर्णरुपमा भत्किएको छ भने विजुली तथा खानेपानी तथा टेलिफोन कटौति भएको छ । यस अघि बुधबार बिहान ५: ४० बजे ४.७ रेक्टर स्केलको भूकम्प उक्त क्षेत्रमा गएलगत्तै विनासकारी भुकम्पले पछयाएको हो ।