अशोक खनाल
छत्रदेव, अर्घाखाँची । अर्घाखाँचीमा आधारभुत आयुर्वेद स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्य अनुरुप नागरिक आरोग्य सेवा केन्द्रको स्थापना गरिएको छ । उक्त सेवा केन्द्रको शुक्रबार एक समारोहकाबीच छत्रदेव गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेलले शुभारम्भ गरेका छन् ।
शुभारम्भ कार्यक्रममा अध्यक्ष पोख्रेलले लुम्विनी प्रदेश मै पहिलो यस केन्द्रलाई ब्यवस्थित रुपमा सत्र्चालन गर्न सहयोग गर्ने बताए । उनले यसै आर्थिक बर्षमा गाउँसभाबाट आवश्यक जग्गा प्राप्तिका साथै भवन निर्माणमा समेत सहयोग गर्ने गरी योजना तर्जुमा गर्ने प्रतिबद्धता जनाए ।
निरोगी नेपाल निर्माण अभियान अघि बढाउन सुदृढ सार्वजनिक स्वास्थ्य सेवाका अतिरिक्त स्वच्छ र सन्तुलित आहार, शारीरिक ब्यायाम, सरसफाई सहितको स्वस्थ्य जीवनशैली अवलम्बन गरी आयुर्वेद लगायतका बैकल्पिक उपचार पद्वतिको प्रवर्द्वन गर्न स्थानिय तहसँगको सहभागितामा केन्द्रको स्थापना गरिएको हो ।
उक्त कार्यक्रममा छत्रदेव गाउँपालिकाका उपाध्यक्ष तुल्सादेवी श्रेष्ठ, प्रमुख प्रशाकिय अधिकृत पवन अर्याल, गाउँपालिकाका प्रवक्ता बालकृण्ण श्रेष्ठ, नेकपा छत्रदेवका अध्यक्ष रामलाल पराजुली, राजमो छत्रदेवका अध्यक्ष नेत्र प्रसाद गैरे लगायतले मन्तब्य राखेका थिए । साथै कार्यक्रममा गाउँपालिकाका अन्य वडाका वडा अध्यक्षहरु , कार्यपालिका सदस्य तथा गाउँसभा सदस्यहरुको उपस्थिति रहेको थियो ।
सो उदघाटन कार्यक्रमको अध्यक्षता अर्घाखाँची आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा अर्जुन राज शर्माले गर्दै कार्यक्रमको उदेश्य माथि प्रकाश पारेका थिए भने कार्यक्रममा स्वागत बैद्य निरीक्षक पशुपति पन्थीले गरेका थिए । कार्यक्रमको सञ्चालन कविराज निरीक्षक कमल प्रसाद आचार्यले गरेका थिए ।