पिताम्बर बन्जाडे
सधै संगै बस्ने भएर पनि
कहिले मिल्न नसक्ने ,
जिन्दगी संगै विताएर पनि
कहिले चिन्न नसक्ने ,
महामूर्खहरूको एकताको प्रतीक हो लोहोरो सिलौटो ।
बलियो भएर पनि सधै
अर्कैको हातको सहारामा चल्ने ,
सधैको भोको , सधैको प्यासी ,
आहारिसेहरूको
एकताको प्रतीक हो लोहोरो सिलौटो ।
जमिनै भासिए पनि
पद र स्थान छोड्न नचाहने सिलौटो,
घिसिएर फिरौली नै भए पनि
ठोक्किन नछाड्ने लोहोरो ,जस्ता
लोभी पापीहरूको
एकताको प्रतीक हो लोहोरो सिलौटो ।
अस्तु :