काठमाडौं, पुस २२ । प्रतिनिधिसभा विघटनविरूद्ध परेका मुद्दाहरूमाथिको अर्को सुनुवाइ आउने बुधवार हुने भएको छ ।
बुधबारको संवैधानिक इजलासले अर्को सुनुवाइ पुस २९ गते बुधबार गर्ने निर्णय गरेको हो ।
बुधबारको सुनुवाइका क्रममा वकिलहरूले प्रतिनिधिसभा विदटनका मुद्दाहरू वृहत पूर्ण इजलासमा पठाउनु पर्ने माग गरेका थिए ।
संवैधानिक इजलासले भन्दा पनि वृहत पूर्ण इजलासले यो विषयमा राम्ररी निर्णय गर्न सक्ने भएकाले वृहत पूर्ण इजलासमा पठाउनु उपयुक्त हुने उनीहरूको तर्क थियो ।
यसैबीच न्यायाधीश हरिकृष्ण कार्कीले संसद विघटनबारे सुनुवाई गरिरहको संवैधानिक इजलासमा नबस्ने घोषणा गर्नुभएको छ ।
प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटहरुको सुनुवाईका लागि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आफ्नो नेतृत्वको संवैधानिक इजलासमा न्यायाधीश कार्कीसहित विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी तोक्नुभएको थियो ।
विपक्षीहरुको लिखित जवाफ आएपछि बुधबार सुरु भएको सुनुवाइका क्रममा वरिष्ठ अधिवक्ता शम्भु थापा र दिनेश त्रिपाठीले न्यायाधीश कार्कीको सहभागितामा प्रश्न उठाएका थिए ।
कार्की, केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारमा महान्यायाधिवक्ता रहेकाले अहिले यो मुद्धा हेर्दा स्वार्थ बाझिने उनीहरुको तर्क थियो । इमेजखबरबाट