शोभाखर पन्थी / अर्घाखाँचीडट्कम संवाददाता
दुर्गाफाँट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाकाे दुर्गाफाँटमा ओली पक्षको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पाणिनी गाउँपालिका कमिटीले विस्तारित बैठक तथा अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ ।
पाणिनी गाउँपालिकामा ओली पक्षको नेकपा गाउँपालिका कमिटीले आज बिहीवार विस्तारित बैठक तथा अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम आयोजना गरेको हो ।
भेलामा नेपाल कम्युनिष्ट पार्टी नेकपा स्थायी कमिटीका सदस्य टोपबहादुर रायमाझीले संसद पुनःस्थापनाको सपना नदेख्न आग्रह गर्नुभएको छ ।
संसद पुनःस्थापना हुनै नसक्ने जिकिर गर्दै उहाँले असंभव कुराको पछाडि जनता नलाग्ने दाबी गर्नुभयो । रायमाझीले समयमै चुनाव हुने भन्दै बिरोध गर्नुको साटो चुनाव सम्पन्न गर्न सरकारलाई सहयोग गर्न आग्रह गर्नु भयो ।
नेपाल कम्युनिष्ट पार्टी नेकपा पाणिनी गाउँपालिका कमिटीद्वारा बिहिबार आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्ड–माधव समूहले निर्वाचित प्रथम अध्यक्ष तथा प्रधानमन्त्रीलाई हटाई सरकार र पार्टी कव्जा गर्ने नियतका कारण पार्टी फुटको संघारमा पुगेको दावी गर्नुभयो । नेकपा नेता समेत रहेका रायमाझीले पार्टी फुट्नुमा मुख्य दोषी प्रचण्ड र माधव नेपाल रहेको उल्लेख गर्नुभयो ।
३३ वर्षसम्म प्रचण्डले आफै टिको लगाएर पार्टी अध्यक्ष भएको भन्दै उहाँले प्रचण्डले बिगतमा पार्टीलाई खल्तीको पैसा जस्तो बनाएको टिप्पणी गर्नुभयो । उहाँले प्रचण्ड, माधव र झलनाथका कारण पार्टी बिभाजन भएको दुखेसो पोख्दै अब पार्टीलाई रुपान्तरण सहितको ध्रुवीकरण गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रमा नेपाल कम्युष्टि पार्टी महाधिवेशन आयोजक कमिटी केन्द्रीय सदस्य चेतनारायण आचार्यले निर्वाचनको समयमा भएको एकताका दिनबाटै गुटबन्दी सुरु भएको बताउँदै नेकपा ओली नेतृत्वको पार्टीमा लाग्न आग्रह गर्नुभयो । उहाँले विघटित संसद पुनःस्थापना हुन नसक्ने बताउँदै गाउँगाउँमा गएर ओली नेतृत्वको नेकपाको पक्षमा संगठित बनाउँन कार्यकर्तालाई आग्रह गर्नुभयो ।
नेपाल कम्युष्टि पार्टी महाधिवेशन आयोजक कमिटी केन्द्रीय सदस्य रामजीप्रसाद घिमिरेले पार्टीका नेताबाटै सरकार सञ्चालन गर्न हस्तक्षेप भएको बताउँदै ओलीको लोकप्रियता सहन नसकेर प्रचण्ड र माधव फुटको दिशामा लागेको बताउनु भयो । घिमिरेले पार्टीभित्रबाटै पटकपटक प्रधानमन्त्री ज्यु माथि प्रहार भएपछि संसद विघटन गर्नुपर्ने अवस्थामा पुगेको दाबी गर्नुभयो ।
कार्यक्रममा नेकपा प्रदेश सदस्य कुटमदिन अली लगाएतले मन्तव्य राख्नु भएको थियो । कार्यक्रम नेकपा पाणिनीका ईन्चार्ज बाबुराम घिमिरेको अध्यक्षता र सचिव जिवलाल घिमिरेको सञ्चालनमा सम्पन्न भएको पत्रकार घनश्याम पौडेलले बताउनु भयो ।