काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ‘लोडसेडिङ भन्ने इतिहासमा अध्ययन गर्ने विषय बनिसकेको’ बताएको छ । पछिल्लो समय विभिन्न सञ्चारमाध्याम तथा सामाजिक सञ्जालमा पुनः लोडसेडिङ सुरु हुन लागेको भन्ने सन्देश प्रवाह भइरहँदा मन्त्रालयले यस्तो अभिव्यक्ति सार्वजनिक गरेको हो ।
मन्त्रालयले विज्ञप्ति जारी गरी भ्रामक सूचना तथा जानकारीको पछाडि लागेर सत्य कुरा तोडमोड गर्न वा मन्त्रीको मर्मको गलत व्याख्या नगर्न पनि सर्वसाधारण तथा सरोकारवालालाई आग्रह गरेको छ । तत्कालीन समयमा ऊर्जा संकट अन्त्य गर्न ९९ बुँदे कार्ययोजना बनाएर सुरु गरेको हुँदा त्यसैको परिणाम पछिल्ला वर्षमा देखिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ– लोडसेडिङ भन्ने इतिहासमा अध्ययनको विषयमा रूपान्तरण भइसकेको छ । निकट भविष्यमा उत्पादित विद्युत् वितरण, उपभोग, निर्यातका लागि विद्यमान प्रसारण लाइनको अपर्याप्तताले ऊर्जा उपयोग नभई खेर जाने अवस्था सिर्जना हुन सक्ने देखिएको छ ।
तत्काल सरकारले आफ्नै स्रोत साधन वा वैदेशिक सहायतालाई राष्ट्रिय हित एवं स्वार्थ अनुरूप नेपालको ऊर्जा विकास, विस्तार एवं उपयोगतर्फ परिचालन गरी मुलुकको समृद्धिमा योगदान पुर्याउन आवश्यक कदम चाल्न जरुरी छ ।
विद्युत् वितरण प्रणालीलाई आधुनिक, व्यवस्थित र प्रभावकारी बनाउन भूमिगत वितरण प्रणालीलाई सहरी सौन्दर्य एवं एकीकृत भूमिगत लाइन निर्माण गर्न आवश्यक रहेको पनि मन्त्रालयले उल्लेख गरेको छ । यी काम गर्न प्राधिकरणलाई निरन्तर निर्देशन दिइएको हुँदा अनावश्यक र भ्रमपूर्ण सूचनामा विश्वास नगर्न विज्ञप्तिमा प्रस्ट पारिएको छ । ऊर्जा खबरमा समाचार छ ।