अर्घाखाँचीडट्कम संवाददाता
ठाडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाकाे ठाडामा ओली पक्षको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) शितगंगा नगरपालिका कमिटीले आयोजना गरेको विस्तारित बैठक तथा अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा एक शिक्षक सहभागी भएपछि विवादमा तानिएका छन् ।
ठाडामा ओली पक्षको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) शितगंगा नगरपालिका कमिटीले आयोजना गरेको विस्तारित बैठक तथा अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा गौरा मावि ठाडाका सामाजिक शिक्षक मेघ बहादुर जिसी सहभागी भएपछि विवादमा तानिएका हुन् ।
गत पौष २२ गते बुधवार उनी ओली पक्षले आयोजना गरेको विस्तारित बैठक तथा अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा विधालयबाट औषधी लिन जान्छु भनेर हिंडेका थिए । जिसीले आफ्नो फेसबूक पेजमा “म यता तपाई कतानी ?” भनी उर्जा जलस्राेत तथा सिंचाइ मन्त्री टाेप बहादुर रायमाझीकाे प्रमुख आथित्यथा, लुम्बिनी प्रदेश सभा सदस्य तथा पार्टी केन्द्रीय सदस्य तथा पार्टी जिल्ला अध्यक्ष चेतनारायण आचार्य सहितको फोटो पोष्ट गरेका थिए ।
१५ वर्षदेखि गौरा मावि ठाडामा राहत शिक्षकमा रहेका जिसी मुटुरोगी भएको र औषधी लिन जान्छु भनी हाजिरी गरेर विद्यालयबाट निस्किएको प्रधानाध्यापक हिमलाल बेल्वासेले बताए । सामाजिक शिक्षक जिसी विद्यालयमा राम्रो पढाउने अनुशासित भएको बेल्वासेले बताए ।
प्रधानाध्यापक हिमलाल बेल्वासेले भने; विद्यालय व्यवस्थापन समितिको आकस्मिक बैठकले जिसीसंग स्पष्टिकरण लिएको छ । “आगामी दिनमा गल्ती नगर्नेगरी माफी माग्नुभएको छ ।” संपर्क गर्न खोज्दा शिक्षक जिसीले भने फोन उठाउन छोडेका छन् ।
औषधी लिन जान्छु भनेर हिंडेका शिक्षक पार्टी कार्यक्रममा गएपछि सामाजिक संजालमा चर्को आलोचना भएको देखिन्छ ।