कांग्रेसद्वारा देशव्यापी प्रदर्शन

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसले ३ सय ३० वटै प्रदेश निर्वाचन क्षेत्रमा विरोध प्रर्दशन गरेको छ । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीका कदमविरुद्ध दोस्रो चरणको आन्दोलनअन्तर्गत कांग्रेसले शनिबार देशभरका ३ सय ३० प्रदेश निर्वाचन क्षेत्रमा प्रर्दशन गरेको हो ।
काठमाडौ प्रदेश क्षेत्र नम्वर १ को प्रदेश निर्वाचन क्षेत्र क र ख ले आयोजना गरेको छुट्टाछुट्टै विरोध कार्यक्रमलाई संवोधन गर्दै कांग्रेसका नेता प्रकाशमान सिंहले संविधानमाथि धावा बोल्दै प्रधानमन्त्रीले घोषणा गरेको चुनाव हुनेमा शंका व्यक्त गर्नुभयो । उहाँले संसदमा विश्वासको मत लिन नसक्ने सरकारले चुनावबाट जनताको मत लिन नसक्ने जिकिर गर्नुभयो ।
संविधानमाथि प्रहार हुँदा कांग्रेस चुप लागेर बस्न नसक्ने भन्दै नेता सिंहले अदालतले संविधानअनुरुप फैसला गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले अदालतले पनि संविधानलाई संरक्षण गर्न नसके मुलुकको राजनीति अन्धकार सुरुङभित्र जाने टिप्पणी गर्नुभयो ।
यस्तै, काठमाडौ निर्वाचन क्षेत्र ८ को प्रदेशसभा क ले आयोजना गरेको विरोध प्रर्दशनलाई संवोधन गर्दै नेता नवीन्द्रराज जोशीले प्रतिनिधिसभा विघटन कम्युनिष्ट सरकारको अधिनायकवादको अन्तिम कदम भएको बताउनुभयो । नेपाली जनताले ७ दशकदेखिको निरन्तर संघर्षबाट प्राप्त संविधानलाई ३ वर्षमै असफल पार्ने प्रयास भएको उहाँको टिप्पणी छ ।
प्रतिनिधिसभा विघटनविरुद्धको दोस्रो चरणको विरोध कार्यक्रम अन्र्तगत देशभरीका प्रदेश निर्वाचन क्षेत्रमा विरोध प्रर्दशनपछि माघ ३ गते सम्पूर्ण पालिका र माघ ८ गते सबै वडा केन्द्रित विरोध प्रर्दशनको कार्यक्रम रहेको छ । इमेजखबरबाट