अर्घाखाँचीमा मसाल निकट अखिल नेपाल जनजाती सम्मेलनको तेस्रो जिल्ला अधिवेशन शुरु


अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्ला सन्धिखर्कमा नेकपा मसाल निकट अखिल नेपाल जनजाती सम्मेलन अर्घाखाँचीको तेस्रो जिल्ला अधिवेशन शुरु भएको छ । 
सन्धिखर्कको चुत्राबेसी स्थित मसालबजारमा नेकपा मसाल निकट अखिल नेपाल जनजाती सम्मेलन अर्घाखाँचीको तेस्रो जिल्ला अधिवेशन शुरु भएको हो ।  सम्मेलनले अध्यक्षमा पुन जनक पुनलाई लाई निर्वाचित गरेको छ। राष्ट्रिय जनमोर्चा निकट जनजाती सम्मेलनले आज सन्धिखर्कमा सम्पन्न तेस्रो जिल्ला अधिवेशनले अध्यक्ष जनक पुनको नेतृत्वमा १३ सदस्यिय जिल्ला कार्य समितिको गठन गरेको हो।
जनजाती सम्मेलनका केन्द्रिय अध्यक्ष निम बहादुर बुढाथोकीको प्रमुख आतिथ्यतामा सम्पन्न जिल्ला अधिवेशनबाट गोकर्ण मुखिया उपाध्यक्षमा चयन हुनुभएको छ । जिल्लाका ६ वटै पालिकाबाट प्रतिनिधिहरुको सहभागितामा सम्पन्न अधिवेशनले गठन गरेको जिल्ला समितिको सचिवमा बिष्णु सारु,सह–सचिव बसन्त घर्ति र कोषाध्यक्षमा कमला थापा चयन हुनुभएको छ । यस्तै समितिको सदस्यमा हरि आले,महेश पुन,नर बहादुर सारु,शुसिला बैजाली,मिजास सोमरे,हिमा थापा,ठाकुर घर्ति र बिशाल थापा छनौट हुनभएको छ ।
अध्यक्ष जनक पुनको अध्यक्षता,गोकर्ण मुखियाको स्वागत मन्तव्य र बसन्त घर्तिको संचालनमा सम्पन्न अधिवेशनमा जनजाती सम्मेलनका केन्द्रिय महासचिव उषा पुन,केन्द्रिय सदस्य अम्मरध्वज राना,राष्ट्रिय जनमोर्चाका नेता शेर बहादुर वि।सी।,झविलाल थापा,जिल्ला अध्यक्ष थम्मन के।सी।,नेकपा मसालका जिल्ला प्रवक्ता पशुपति ढकाल,अन्टुकका केन्द्रिय उपाध्यक्ष गोविन्द वि।सी।,अखिल नेपाल शिक्षक संघका केन्द्रिय कोषाध्यक्ष टेक बहादुर थापा, अखिल नेपाल किसान महासंघका जिल्ला अध्यक्ष जीवनारायण खनाल,अनेम संघ जिल्ला सचिव कल्पना पोख्रेल लगायतले मन्तव्य राख्नुभएको थियो ।
अधिवेशनको उद्घाटन शत्रमा बोल्दै उहाँहरुले अहिले व्यबस्थामा जनजातीहरुलाई उपयोग गरेर सत्ता र शक्तिमा पुग्नेहरुले नै देश र जनतामाथि घात गरेको भन्दै अब जनजातीहरु देश र जन्ताको रक्षाको लागि संघर्षमा होमिनको लागि आग्रह गर्नुभएको थियो ।